चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानी काठमाडौंसहित उपत्यका र आसपासका जिल्लामा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था गरिएको छ।
कृष्णभीरको सडकमा समस्या आएपछि ग्यास बोकेका बुलेट काठमाडौंसम्म पुग्न नसक्ने अवस्था बनेपछि उपत्यका र छिमेकी जिल्लामा रहेका ग्यास उद्योगहरूले राजधानी बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने भएका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका तथा आसपासका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन्।
उपत्यका र छिमेकी जिल्लामा मात्रै देशभरको कुल एलपी ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने गरेको सङ्घले जनाएको छ। सडक अवरुद्ध भए पनि वैकल्पिक व्यवस्थामार्फत आपूर्ति कायम राख्ने प्रयास भइरहेको बताइएको छ।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म राजधानी बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइनेछ। ती उद्योगमा भरिएको ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडक हुँदै काठमाडौं ल्याइने उनले जानकारी दिए।
उनका अनुसार राजधानी बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेको छ। त्यसैले उपत्यका र आसपासका जिल्लामा तत्काल ग्यास अभाव हुने अवस्था नरहेको भन्दै उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास मौज्दात नराख्न आग्रह गरेका छन्।
कालाखेतीका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगसँग समन्वय गरी ग्यास भर्न सुरु गरेका छन्। त्यस्तै एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न थालेका छन्। अन्य उद्योगहरूले पनि राजधानी बाहिरका उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाइरहेका छन्।
सडक अवरोधका कारण आपूर्ति प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै उद्योगीहरूले वैकल्पिक मार्ग र बाहिरी जिल्लाका उद्योगमार्फत ग्यास आपूर्ति व्यवस्थालाई निरन्तरता दिने तयारी गरेका छन्।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्