काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको, केही बेपत्ता भएको तथा ठूलो संख्यामा परिवार विस्थापित भएको घटनाप्रति कम्पनीले दुःख व्यक्त गरेको छ।
विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार, सुरक्षा निकाय र स्थानीय संघ–संस्थाले गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उक्त सहयोगबाट बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न वितरण, स्वास्थ्य उपचार र पुनःस्थापनालगायतका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आईएमई लाइफले प्राकृतिक विपद् तथा संकटका बेला सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विपद्मा परेका नागरिकको साथमा रहने प्रतिबद्धता जनाएको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक र सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्