काठमाडौं । बागमती प्रदेशमा सरकार गठनका विषयमा देखिएको राजनीतिक समीकरणलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेबीच विवाद चर्किएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेले आफ्नो पार्टीका सांसदलाई व्यक्तिगत रूपमा प्रभावित पारेर राजनीतिक चलखेल गरेको आरोप लगाएका छन्।
लिङ्देनका अनुसार सत्ता समीकरणबारे एमालेले राप्रपासँग संस्थागत रूपमा संवाद गर्नुभन्दा सांसदहरूसँग छुट्टाछुट्टै सम्पर्क गरेर आफ्नो पक्षमा पार्ने प्रयास गरेको थियो। उनले यस्तो गतिविधिलाई राजनीतिक रूपमा अनुचित भएको टिप्पणी गरेका छन्।
यसैबीच, राप्रपाको कार्यसम्पादन समितिले बागमती प्रदेशसभामा पार्टी संसदीय दलका नेता उद्दव थापामाथि कारबाही गर्ने निर्णय गरेको छ। पार्टीको निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै थापालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरिएको हो।राप्रपाले थापाको प्रदेशसभा सदस्य पदसमेत गुम्ने गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। पार्टी निर्णय उल्लङ्घन गर्दै सरकारलाई समर्थन गर्नु अनुशासनविपरीत भएको लिङ्देनको दाबी छ।
पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीको निर्णयविपरीत सरकारमा सहभागी हुने वा समर्थन गर्ने अन्य नेतामाथि पनि कारबाही हुने स्पष्ट पारे। बागमतीको सत्ता समीकरणसँगै राप्रपाभित्रको आन्तरिक विवादसमेत सतहमा आएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्