शिल्पा शेट्टीलाई खोज्दै उत्तर प्रदेशबाट मुम्बइ गयो प्रहरी टोली

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण २५

आफ्ना पति राज कुन्द्रा पोर्नोग्राफी केसमा जेलमा रहेको करिब ३ हप्तापछि बलिउड अभिनेत्री शिल्पा शेट्टी पनि गम्भीर मुद्दामा फसेकी छिन् ।

शिल्पा शेट्टी र उनकी आमा सुनन्दामाथि ठगी मुद्दा लागेको छ । यो मुद्दामा जाँचको लागि शिल्पालाई खोज्दै उत्तर प्रदेश प्रहरीको टोली मुम्बइ गएको छ ।

प्रहरी टोली सोमबार साँझसम्म मुम्बइ पुग्ने बताइएको छ । यो टोलीले शिल्पा र उनकी आमा सुनन्दासँग सोधपुछ गर्नेछ ।

‘आयोसिस स्लिमिङ स्किन सैलुन एण्ड स्पा वेलनेस सेन्टर’ को शाखा खोल्ने नाममा शिल्पा र उनकी आमाको कम्पनीले दुई जनाबाट करोडौं ठगी गरेको आरोप लागेको छ ।

उनीहरुले पैसा लिएर आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै उनीहरुविरुद्ध ठगी मुद्दा दायर भएको हो । शाखाको ओपनिङमा शिल्पा नआएको र उनको कम्पनीका कसैले पनि कुनै सहयोग नगरेको आरोप छ ।

लखनउको विभुतिखण्ड पुलिस स्टेशनमा ज्योत्सना चौहान र हजरतगंज थानामा रोहित वीर सिंहले उनीहरुविरुद्ध ठगीको उजुरी दर्ता गराएका छन् ।

दुवै उजुरीमाथि जाँचमा यो ठगीमा शिल्पा र उनकी आमा सुनन्दाको भूमिका देखिएको छ ।

हजरतगंज पुलिसले एक महिना अगाडि उनीहरुलाई सोधपुछको लागि उपस्थित हुन नोटिस पठाएको थियो । विभुतिखण्डको पुलिस टिम नोटिसको तामेलीको लागि मुम्बइ गएको हो ।

यसबाहेक डेप्युटी कमिश्नर नेतृत्वको अलग टिम सोधपुछको लागि मुम्बइ गएको छ ।

ज्योत्सना चौहानले गत वर्ष जुनमा केस दर्ता गराएकी थिइन् ।

उनले वेलनेस सेन्टर खोल्ने नाममा आयोसिस कम्पनीका किरन बाबा, विनय भसिन, अनिका चतुर्वेदी, इशरफिल, नवनीत कौर, आशा, पुनम झा समेतका व्यक्तिहरुले अढाइ करोड रुपैयाँ २ पटकमा असुलेको आरोप लगाएकी छिन् ।

यसका लागि फर्जी दस्तावेज प्रयोग गरिएको आरोप छ ।

यो हाइप्रोफाइल केसको जाँचको नेतृत्व स्वयं डेप्युटी कमिश्नर संजीव सुमनले गरिरहेका छन् ।

उनका अनुसार केस निकै हाइप्रोफाइल र संवेदनशील छ त्यसैले हरेक कोणबाट यो केसको जाँच भइरहेको छ र प्रमाण जुटाएपछि आरोपीको गिरफ्तारी पनि हुनेछ ।

अर्को केसमा हजरतगंज पुलिसले एक महिना पहिले नोटिस पठाएर शिल्पा र उनकी आमालाई सोधपुछको लागि बोलाएको भए पनि दुवैले अहिलेसम्म बयान दिएका छैनन् । हजरतगंज पुलिस पनि छिटै बयान लिन मुम्बइ जान सक्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *