उत्तर प्रदेशमा हावाहुरीका कारण ९४ जनाको मृत्यु

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख ३१

काठमाण्डौँ । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको प्रयागराज-अयोध्यासहित ३० जिल्लामा बुधबार हावाहुरी र आँधीका कारण ९४ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै प्रयागराजमा १७ र भदोहीमा १६ जनाको मृत्यु पुष्टि भएको छ ।

यहाँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरी चलेको भारतका सञ्चार माध्यमहरूले खबर लेखेका छन् । बरेलीमा एक युवकलाई जस्तापातासँगै हावाले उडाएको बताइएको छ। राज्यको बांदा सहरमा तापक्रम ४५.४ डिग्री सेल्सियस रह्यो। विहीबार ५१ जिल्लामा तीव्र हावाहुरी र वर्षाको अलर्ट छ।

राजस्थान पनि कडा गर्मी र हिटवेभ (लु) ले प्रभावित छ। बुधबार लगातार चौथो दिन राज्यको जैसलमेर देशकै सबैभन्दा तातो सहर रह्यो, यहाँ ४६.१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

मौसम विभागका अनुसार विहीबार बीकानेर, जोधपुर, जैसलमेर र बाडमेरमा कडा गर्मीको रेड अलर्ट छ। १३ जिल्लामा हिटवेभको चेतावनी छ।

उता, मध्य प्रदेशका २५ भन्दा बढी जिल्लाहरूमा हिटवेभ चलिरहेको छ, जुन १८ मे सम्म जारी रहन सक्छ। बुधबार खजुराहोमा तापक्रम ४५.४ डिग्री सेल्सियस रह्यो । आज इन्दौर, उज्जैन, धार र रतलाममा हिटवेभको ओरेन्ज अलर्ट छ। यी जिल्लाहरूमा तातो रातको पनि अलर्ट जारी गरिएको छ।

यता, हरियाणाको अधिकतम तापक्रममा पछिल्लो २४ घण्टामा १.२ डिग्री सेल्सियसले वृद्धि भएको छ। राज्यका ५ सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी रह्यो, जसमध्ये नारनौलमा ४२.५ डिग्री सेल्सियस मापन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *