२६ जेठ, काठमाडौं । भारत उत्तरप्रदेशस्थित कानपुर–इलाहाबाद सडकखण्डमा बस र अटो एकआपसमा ठोक्किंदा १७ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
भारतीय सामाचार एजेन्सी एएनआईले जनाए अनुसार तीव्र गतिको बस कानपुरको सचेन्दी भन्ने ठाउँमा अटोसँग ठोक्किएर दुर्घटना भएको हो।
लखनउबाट नयाँदिल्ली प्रस्थान गर्दै गरेको शताव्दी ट्राभल्सको बस मंगलबार साँझ मजदुरहरु सवार अटोसँग ठोक्किएको थियो । दुर्घटनामा मृत्यु भएकाहरुमध्ये धेरैजसो बिस्कुट फ्याक्ट्रीमा काम गर्ने मजदुरहरु रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले प्रधानमन्त्री विपद कोषबाट मृतकका परिवारलाई दुई लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्री आदित्यनाथले दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया