काठमाण्डौँ । सिंहदरबारमा मङ्गलवार गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र आईजीपी दानबहादुर कार्की सहितका उच्च सुरक्षा अधिकृतहरूसँग करिब ५ घण्टा छलफल गरे । साँझ ६ बजे सुरु भएको छलफलबाट सचिव श्रेष्ठ राति ९ बजे बाहिरिएका थिए । तर, आईजीपी कार्की र केही उच्च सुरक्षा अधिकृतहरू बाहिरिँदा झन्डै ११ बजेको थियो ।
छलफलमा काठमाडौँका सीडीओ ईश्वरराज पौडेल र सशस्त्रका आईजी राजु अर्याल पनि सहभागी थिए । गृहमन्त्री गुरुङले सुरक्षा अधिकारीहरूसँग सुरुमा माइतीघरमा अनसनरत सोभा पाठकको इस्युमा छलफल गरे । आफूलाई बलात्कार गर्ने पुरुषलाई पक्राउ गर्नुपर्ने र मुद्दा अदालतमा लैजानुपर्ने माग राख्दै पाठक वैशाख ३ देखि माइतीघर मण्डलामा आमरण अनसन बसिरहेकी छन् । वैशाख ५ मा मन्त्री सुधन गुरुङले मण्डलामा पुगेर उनलाई भेटेर ‘सान्त्वना’ दिएका थिए ।
बैठकमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतका अनुसार ‘शोभा पाठकको अनसनको इस्यु संवेदनशील भएको हुनाले त्यसमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ ।
व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल सहितविरुद्ध चलिरहेको सम्पत्ति शुद्धीकरण मुद्दा र त्यसमा ‘कनेक्टेड’हरुलाई कसरी अनुसन्धानको दायरामा ल्याउन सकिन्छ भन्नेबारे उनले चासो राखेका थिए । भट्ट र अग्रवालमाथिको अनुसन्धान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरिरहेको छ । गृह मन्त्रालय र सुरक्षा निकायको लागि आवश्यक बजेटबारे पनि छलफल भएको अधिकृतहरू बताउँछन् ।
काठमाडौँ उपत्यका सहित देशभर ट्राफिक व्यवस्थापन कसरी सुधार गर्ने र दुर्घटना न्यूनीकरण गर्नेबारे पनि मन्त्री गुरुङले छलफल गरेका थिए ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्