मकै छाड्दै कफीतर्फ किसानको आकर्षण, गाउँमै रोजगारी सिर्जना

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २७

धुलिखेल — काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकामा कफी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। परम्परागत अन्नबालीभन्दा कफीबाट राम्रो आम्दानी हुने देखिएपछि स्थानीय किसानहरूले व्यावसायिक रूपमा कफी खेती विस्तार गर्न थालेका छन्।

महाभारत–५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर यतिबेला आफ्नो बारीमा कफीका बिरुवा रोप्न खाल्डो खन्न व्यस्त छन्। उनले मकै खेतीबाट अपेक्षित उत्पादन नहुँदा र जङ्गली जनावरबाट हुने क्षतिका कारण कफी खेती रोजेको बताइन्। यस वर्ष उनले करिब ८०० खाल्डो तयार गरिसकेकी छन्।

त्यसैगरी, हिराबहादुर राना मगर र रामकुमार लुङ्गेली मगरजस्ता किसान पनि कफी खेती विस्तारमा जुटेका छन्। कफी बोटले दुई वर्षमै उत्पादन दिन थालेपछि यसतर्फ आकर्षण बढेको उनीहरूको भनाइ छ।

प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा कफी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन भइरहेको छ। लागत साझेदारी मोडेलअन्तर्गत किसान, गाउँपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा कफी खेती विस्तार गरिएको हो।

यस वर्ष मात्रै ३० हजार कफी बिरुवा रोप्ने लक्ष्य राखिएको छ भने समग्रमा एक लाख बिरुवा वितरण गर्ने योजना रहेको छ। गाउँपालिकाले विभिन्न वडालाई कफी उत्पादन क्षेत्रका रूपमा विकास गर्दै किसानलाई आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *