गोलञ्जोरमा ‘जुनार महोत्सव’ तयारी, किसानको मुख्य माग—सुनियोजित कृषि सडक

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १८

सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा यही मङ्सिर २३–२५ गते हुने ‘जुनार महोत्सव’को तयारी तीव्र छ। पहेँलपुर बगैँचाले चिनिने महाभारत क्षेत्रका किसानले यस वर्ष उत्पादन वृद्धि भए पनि रोगकिरा, जलवायु परिवर्तन र विशेष रूपमा सडक अभावले बजारसम्म पुर्‍याउन समस्या झेलिरहेको बताउँदै आएका छन्।

गोलञ्जोरलाई ‘जुनार सुपर जोन’ घोषणा गरिसकिएको छ। स्थानीय तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाबाट मात्र झण्डै रु ३४ करोडको जुनार बिक्री भएको थियो भने जिल्लाभर करिब रु ३६ करोडभन्दा बढीको कारोबार भएको थियो। सहकारीको अनुमान अझै दोब्बर छ।

किसान र स्थानीय तहको प्रमुख माग भनेको कृषि सडकको कालोपत्र हो। खराब सडकका कारण फल ढुवानी गर्दा छिट्टै बिग्रिने, उत्पादकले कम मूल्य पाउने र उपभोक्ताले महँगो तिर्नुपर्ने समस्या बढेको उनीहरूको गुनासो छ। यसै विषयमा प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउन महोत्सव केन्द्रित गरिएको आयोजकले बताएको छ।

जुनार क्षेत्र विस्तार, चिस्यान केन्द्र निर्माण, रोगकिरा नियन्त्रण र बजार पहुँच सुधारसँगै गाउँमा कृषि पर्यटनको सम्भावना पनि बढ्दै गएको स्थानीय तहको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *