पशुपति क्षेत्रमा भेटिएका फ्रान्सेली नागरिक : लुटपाट होइन, आर्थिक संकट मुख्य कारण

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र २५

काठमाण्डौँ । काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक अलपत्र र बेवारिसे अवस्थामा भेटिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले यसको वास्तविक तथ्य सार्वजनिक गरेको छ । ती विदेशी नागरिक लुटपाटमा परेको भन्ने चर्चा चले पनि अनुसन्धानबाट अर्कै तथ्य फेला परेको हो ।

प्रहरीका अनुसार ती फ्रान्सेली नागरिक विगत ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसँग नेपालमै बस्दै आएका थिए। लामो समयदेखिको बसाइ र कमजोर आर्थिक अवस्थाका कारण उनीहरू समस्यामा परेको खुलेको छ।

आर्थिक संकट गहिरिँदै गएपछि ती दम्पतीले आफू बसेको होटलको पैसा तिर्न नसकेर आफ्नो पासपोर्ट, मोबाइल फोन र ल्यापटप लगायतका महत्त्वपूर्ण सामानहरू होटलमै छोडेर हिँडेको पाइएको छ। सोधपुछका क्रममा ती नागरिकले आफ्ना सामान चोरी वा लुटपाट नभएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा फैलाइएको हल्लाजस्तो उनीमाथि कुनै आपराधिक घटना नभएको प्रहरीले पुष्टि गरेको छ। अहिले ती फ्रान्सेली नागरिकलाई फेला पारी सुरक्षित साथ आवश्यक प्रक्रियाका लागि अध्यागमन विभागमा बुझाइएको छ।

प्रहरीले घटनाको वास्तविकता नबुझी केवल लाइक्स र भ्युजका लागि भ्रामक भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता अफवाहले गलत सन्देश फैलाउने भन्दै सत्यतथ्य बुझेर मात्रै सूचना प्रवाह गर्न प्रहरीले सचेत गराएको छ।

भिडियोमार्फत जानकारी दिने सजग नागरिकहरूलाई धन्यवाद दिँदै प्रहरीले भ्रमको पछि नलाग्न पनि अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *