“राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना अपरिहार्य, एमसीसी खारेज गर्नुपर्ने सांसद ज्ञानेन्द्र शाहीको माग

DaksuMedia दाक्सु मिडिया
|
२०८२ चैत्र १९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले बिहीबार प्रतिनिधिसभाको बैठकमा देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरता सुनिश्चित गर्न संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना आवश्यक रहेको बताएका छन् ।

सांसद शाहीले नेपालको निर्माण कुनै दल वा नेताले नभई राजसंस्था र जनताले मिलेर गरेको दाबी गर्दै, “यो देश कांग्रेस, एमाले, रास्वपा वा माओवादीले होइन, राजसंस्था र जनताले बनाएको हो,” भन्दै संवैधानिक राजसंस्थाको पुनर्विचार गर्न गम्भीर विमर्श सुरु गर्नुपर्नेमा जोड दिए ।

उनले देशको धर्मीय तथ्यांक प्रस्तुत गर्दै नेपाललाई धर्मनिरपेक्ष राष्ट्रबाट हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने माग राखेका छन्। शाहीले एमसीसी सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै यसको खारेजीको मागसमेत उठाए ।

सांसद शाहीले भूराजनीतिक सन्तुलन कायम गर्न पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति पूर्ण रूपमा पालन गर्नुपर्ने र छिमेकी राष्ट्रहरूको गतिविधिमा निगरानी राख्न नेपाली सेना सीमावर्ती क्षेत्रमा खटाउनुपर्ने बताए ।

उनी देशको वर्तमान अवस्था प्रति चिन्तित हुँदै ८० लाखभन्दा बढी युवाले विदेश रोजेको र रेमिट्यान्सले मात्र देश धानेको तथ्य प्रस्तुत गरे। न्याय प्रणालीमाथि पनि प्रश्न उठाउँदै निर्मला पन्तदेखि इन्साफ बिकसम्मको घटनामा न्याय नपाइएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *