काठमाण्डौँ । नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको बताएका छन् । शुक्रबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्दामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको बताएका हुन् ।
कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको उनले बताए । सभापति कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै नेता–कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान र नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको हो । तपाईंको गोडा चलाउनुस्, घर–घर पुग्नुस् । तपाईंको हात चलाउनुस्, गएर ढोग्नुस्,’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस् । नौजवानहरूको कुरा सुन्नुस् ।’
थापाले नवयुवासँग कुरा गर्दा शुरूमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई पार्टीबारे सम्झाउन पनि आग्रह गरे । ‘उनीहरूले पहिला दुई लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस् यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ’ ।
कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टीपंक्तिलाई आग्रह गरे ।
सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् । सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्