काठमाडौँ — उज्यालो नेपाल पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने नारासहित सार्वजनिक दस्तावेजमा शासन सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाइएको छ।
पार्टीले प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ। साथै, सङ्घीय संसदको संख्या २७५ बाट २०१ र प्रदेश सांसद ५५० बाट ३३० मा झार्ने योजना पनि समेटिएको छ। मन्त्रालयको संख्या घटाएर राज्य खर्च कटौती गर्ने लक्ष्य लिइएको छ।
भ्रष्टाचारविरुद्ध कडा नीति अवलम्बन गर्दै भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र सम्पत्ति राष्ट्रियकरण गर्ने प्रतिबद्धता जनाइएको छ। मतदातालाई ‘नो भोट’ को विकल्प दिने प्रस्ताव पनि घोषणापत्रमा राखिएको छ।
आर्थिक क्षेत्रमा सन् २०३० सम्म ९ प्रतिशत वार्षिक वृद्धि हासिल गर्ने र प्रत्येक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ। हरेक परिवारलाई जलविद्युत् आयोजनामा न्यूनतम १ हजार कित्ता सेयर उपलब्ध गराउने बाचा गरिएको छ।
त्यस्तै, विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा र तोकिएका स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने, साथै ‘कमाउँदै पढ्दै’ कार्यक्रममार्फत विद्यार्थीलाई इन्टर्नसिपको अवसर दिने योजना पनि घोषणापत्रमा समेटिएको छ।


दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्