महाशिवरात्रिमा बाग्मती नदीको बहाव बढाउन ५ करोड लिटर पानी छाड्ने तयारी

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन १

काठमाण्डौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बाग्मती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ । भक्तजनलाई स्नान गर्न र नदीको सौन्दर्यता अभिवृद्धि गर्न सहयोग पुग्ने उद्देश्यले धापड्यामबाट पानी छडिने थालिएको हो ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको बाग्मती सुधार आयोजनाले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर परिसरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लाग्ने भएकाले नदीमा पानीको बहाव बढाउन पानी छाडिएको जनाएको छ ।

पानीको बहाव बढाउन आज दिउँसोदेखि नै ड्यामबाट क्रमिक रूपमा पानी छोड्न थालिएको आयोजनाले जानकारी दिएको छ । आयोजनाले पर्व अवधिभर नदीमा निरन्तर पानी प्रवाह हुने गरी समन्वय गरिएको जनाएको छ ।

आयोजना उपनिर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले महाशिवरात्रिलाई लक्षित गरी आजदेखि नै धापड्यामको पानी नदीमा छोड्न सुरु भएको जानकारी दिए ।

समितिका अनुसार बाग्मती नदीमा प्रतिसेकेण्ड ४०० लिटर पानी तीन दिनसम्म छाडिनेछ । महाशिवरात्रि पर्वका अवसरमा बाग्मती नदीमा पानीको बहाव बढाउने तयारीअन्तर्गत सम्बन्धित निकायबीच समन्वय गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई सुन्दरीजल पानी प्रशोधन शाखामार्फत नदीमा पानी प्रवाह गरिदिन पत्राचार गरिएको छ ।

यसअघि २०८१ जेठ २३ गते विभिन्न चाडपर्वका अवसरमा बाग्मतीमा पानी प्रवाह गर्ने विषयमा सरोकारवाला निकायको बैठकले निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *