सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा सञ्चालन गरेको निर्वाचन प्रचार–प्रसार अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
पार्टीका अनुसार अभियानको पहिलो दिन माघ २४ गते गाउँपालिकाका वडा नं. १, २ र ३ मा कार्यक्रम गरिएको थियो भने दोस्रो दिन माघ २५ गते वडा नं. ४ र ५ मा प्रचार कार्यक्रम सम्पन्न गरिएको हो।
नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाका अनुसार लिखुपिकेमा सम्पन्न कार्यक्रम समग्रमा उत्साहजनक रह्यो। उहाँले मतदाताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिनुभयो।
त्यस क्षेत्रमा आवश्यक पर्ने बाँकी गतिविधिहरूको जिम्मेवारी गाउँपालिका कमिटी तथा वडा कमिटीलाई प्रदान गरी अन्य निर्वाचन क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिन निर्वाचन प्रचार टोली फर्किएको अध्यक्ष बास्तोलाले बताउनुभयो।
प्रचार अभियानपछि लिखुपिकेका स्थानीयहरू उत्साहित देखिएको र मतदानमार्फत नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको उहाँको भनाइ छ।
लिखुपिकेमा कार्यक्रम सम्पन्न गरेपछि प्रचार टोली सोलुदुधकुण्ड नगरपालिका प्रवेश गरी वडा नं. २, जुनबेसीमा पनि कार्यक्रम सम्पन्न गरेको जनाइएको छ। अध्यक्ष बास्तोलाका अनुसार भोलिदेखि बाँकी स्थानहरूमा तय गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्