काठमाण्डौँ । विश्वप्रसिद्ध मार्सल आर्टिस्ट तथा अभिनेता ब्रुस लिउङको ७७ वर्षको उमेरमा निधन भएको छ।
‘लिउङ सिउ-लुङ’ नामले समेत चिनिने हङकङ सिनेमाका यी भेट्रान कलाकारको गत जनवरी १४ मा निधन भएको हो । उनको मृत्युको स्पष्ट कारण नखुलाइए पनि परिवारजनले आगामी जनवरी २६ मा चीनको सेनझेनमा अन्तिम विदाईको कार्यक्रम तय गरेका छन् ।
सन् २००४ को चर्चित फिल्म ‘कुङ फु हसल’ मा ‘द बिस्ट’ को शक्तिशाली भूमिका निभाएर नयाँ पुस्तामाझ लोकप्रिय बनेका लिउङको बिदाइमा विश्वका हस्ती कलाकारहरू स्तब्ध बनेका छन् । लिउङको आधिकारिक सामाजिक सञ्जालमा उनको नामबाट एउटा भावुक सन्देश पोस्ट गरिएको छ, जसमा लेखिएको छ, ‘म धेरै टाढा एउटा फिल्म सुटिङका लागि गएको छु, बिदा नभनी हिँडेकोमा माफ गरिदिनुहोला। म अलिकति रहस्य मन पराउँछु, त्यसैले मेरो मृत्युलाई एउटा सुटिङको यात्रा सम्झिदिनुहोला।’
कुङ फु हसलका निर्देशक स्टिफन चाउले लिउङलाई सधैँ सम्झिरहने भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, एक्सन स्टार ज्याकी चेनले एक भावुक पोस्ट लेख्दै उनलाई मार्सल आर्टको महान उस्तादको संज्ञा दिएका छन् । ज्याकीले भनेका छन्, ‘मैले यो खबर अझै विश्वास गर्न सकिरहेको छैन । उनी मार्सल आर्टका धेरै शैलीमा निपुण थिए र आफ्नो जीवनभरको सीपलाई फिल्मको पर्दामा उतारे। लिउङ, बेइजिङमा हिउँ परिरहेको छ र म तिमीलाई सम्झिरहेको छु ।’
सन् १९७० र ८० को दशकमा मार्सल आर्ट फिल्महरूमा राज गरेका लिउङले ‘द ड्रयागन लिभ्स अगेन’ र ‘म्याग्निफिसेन्ट बडीगार्ड्स’ जस्ता हिट फिल्महरूमा अभिनय गरेका थिए । ब्रुस लीको निधनपछि सुरु भएको ‘ब्रुसप्लोइटेशन’ फिल्म युगका उनी एक प्रमुख अनुहार मानिन्थे। उनले टेलिभिजन शो ‘द लेजेन्डरी फोक’ मार्फत पनि दर्शकको मन जितेका थिए ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्