कीर्तिपुरमा सुकुमवासीको असन्तुष्टि : “एउटा प्याकेटले पेट भरिँदैन”

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख १३

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीहरूलाई अस्थायी सेल्टरमा राखिएपछि उनीहरूले खानाको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

सरकारले आइतबार थापाथली, गैरीगाउँ, सिनामंगल लगायत क्षेत्रका सुकुमवासी बस्ती खाली गराएको हो । हटाइएका परिवारहरूलाई कीर्तिपुर, भक्तपुर र ललितपुरका विभिन्न अस्थायी आश्रयस्थलमा व्यवस्थापन गरिएको छ।

कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा राखिएका सुकुमवासीहरूले आफूहरूले पर्याप्त खाना नपाएको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाले प्याकेट खाना, चिया र बिस्कुट वितरण गरे पनि त्यो अपर्याप्त भएको उनीहरूको भनाइ छ।

आइतबार बिहान चिया–बिस्कुट वितरण गरिएको भए पनि केहीले त्यो समेत नपाएको बताएका छन् । मध्यान्हपछि खाना वितरण हुँदा लामो लाइन बस्नुपरेको र एउटा प्याकेटले पेट नभरिने उनीहरूको गुनासो छ।

वर्षौँदेखि बसोबास गर्दै आएको बस्ती छाड्नुपरेको पीडासँगै आधारभूत आवश्यकतामा समस्या आउँदा आफूहरू थप मारमा परेको सुकुमवासीहरूले बताएका छन् ।

यसैबीच, सरकारले विस्थापितहरूको विवरण सङ्कलन गर्न ‘स्क्रिनिङ’ प्रक्रिया अघि बढाएको छ। भूमि सुधार तथा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त टोलीले प्रभावित परिवारहरूको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *