कांग्रेसका १० नेताले निर्वाचन नलड्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ माघ ५

काठमाण्डौँ । नेपाली कांग्रेसका १० नेता फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । उनीहरूले निर्वाचन नलड्ने भन्दै सार्वजनिक रूपमा घोषणा गरेका छन् ।

अहिलेसम्म निर्वाचन नलड्ने घोषणा गर्नेमा विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्मा छन् । २०७४ सालमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी आफू पार्टीको काममा लाग्ने सार्वजनिक रूपमा बताएका छन् ।

त्यस्तै हृदयराम थानी, दिलेन्द्र प्रसाद बडू, डा. नारायण खड्काले विज्ञप्ति जारी गरेर निर्वाचन नलड्ने बताएका छन् । उनीहरू सबै पूर्वमन्त्री र प्रत्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्दै पटक–पटक निर्वाचन जितेका नेतामा पर्छन् ।

बलबहादुर केसीले आफ्नो जिल्लाका सबै नेताहरूलाई राखेर निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

काभ्रेका नेता शिव हुमागाईले पनि आइतबार डा. शेखर कोइराला समूहले आइतबार काठमाडौँमा गरेको भेलामा निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

जेनजी आन्दोलन हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका बद्री पाण्डेले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभा कतैतर्फ पनि उम्मेदवारी नदिने घोषणा गरेका छन् । गृहजिल्ला बाजुरा पुगेर पाण्डेले आफू उम्मेदवार नहुने बताएका हुन् । उनी २०७९ को चुनावमा बाजुराबाट निर्वाचित भएका थिए ।

पाण्डेले जेनजी आन्दोलनको समयमा आफू सरकारमा रहेकाले आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढंगले सम्बोधन गर्न नसकिएको अनुभूति भएकाले निर्वाचन नलड्ने बताएका हुन् ।

काठमाडौँको क्षेत्र नम्बर १० मा लगातार तीन वटा चुनाव जितेका राजेन्द्रकुमार केसीले पनि निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

अर्का नेता जिपछिरिङ लामाले गृहजिल्ला दोलखाका नेता तथा कार्यकर्ताहरूलाई राखेर आफू निर्वाचन नलड्ने बताएका छन् । लामा २०६४ सालमा पहिलो संविधानसभामा सदस्य थिए ।

निर्वाचन नलड्ने घोषणा गर्नेमा पूर्व कृषिमन्त्रीसमेत रहेका धादिङ कांग्रेस सभापति रामनाथ अधिकारी पनि छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा मन्त्री रहेका अधिकारीले भदौ २४ गते पदबाट राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *