सोलुखुम्बु । सोताङ गाउँपालिकामा मालपोत र नापी कार्यालय स्थापना हुने भएको छ । पुस २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सोताङमा दुवै कार्यालय स्थापना गर्ने निर्णय गर्दै आवश्यक संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो ।
यस निर्णयसँगै लामो समयदेखि सामान्य सरकारी सेवाका लागि समेत सदरमुकाम सल्लेरीसम्म कष्टकर यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ । गाउँपालिकाका अनुसार अब सोताङमै प्रशासनिक सेवा विस्तारको ढोका औपचारिक रूपमा खुलेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोताङका लागि मालपोत र नापी कार्यालयको दरबन्दी स्वीकृत भइसकेको जानकारी दिनुभयो । स्थानीयस्तरमै जग्गासम्बन्धी काम सहज बनाउने उद्देश्यका साथ सरकार अघि बढेको उहाँले बताउनुभयो ।
कार्यालय स्थापना हुने सुनिश्चित भएपछि सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले यसलाई गाउँपालिकाका लागि ठूलो उपलब्धि भएको बताउनुभएको छ । उहाँका अनुसार सोताङका नागरिकसँगै छिमेकी गाउँपालिकाका बासिन्दाहरूले समेत यस सेवाबाट लाभ लिन सक्नेछन् ।
अध्यक्ष बस्नेतले थुलुङ दूधकोशी गाउँपालिका वडा नं. ८ र ९ तथा माप्य दूधकोशी गाउँपालिका वडा नं. ६ र ७ का नागरिकले पनि सोताङबाटै सेवा लिन चाहेमा आवश्यक समन्वय र पहल गरिने जानकारी दिनुभयो । यसअघि दुर्गम बाटो हुँदै सल्लेरी पुग्नुपर्ने अवस्थाले स्थानीयको समय र खर्च दुवै बढ्दै आएको थियो ।
अध्यक्ष बस्नेतले यो महत्वपूर्ण निर्णयमा सहयोग पु¥याउने मन्त्रिपरिषद्, सरकारका सदस्यहरू तथा कर्मचारी प्रशासनप्रति आभार व्यक्त गर्नुभएको छ ।

दाक्सु मिडिया

तपाईको प्रतिक्रिया दिनुहोस्