काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एकजना युवक मृत भेटिएका छन् । भोजपुर अरुण गाउँपालिका–३ घर भएर ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई मृत भेटिएका हुन् ।
उनको शव भेटिएको स्थान ललितपुरको लाकुरीभञ्ज्याङ र भक्तपुरको सीमा क्षेत्रमा पर्छ । हत्या गरेर फालेको अवस्थामा जंगलमा पारुहाङको शव भेटिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताएका छन् ।
पारुहाङ र ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटमा भएको केशवराज हायुको हत्या बिच ‘कनेक्सन’ पनि देखिएको छ । सिन्धुली गोलन्जोर गाउँपालिका–३ का हायु पुस २ मा शेरेफाँटमा मृत भेटिएका थिए । फार्म हाउसको इनारमा बोरामा प्याक गरेर फालेको अवस्थामा शव हायुको शव भेटिएको थियो ।
हायुको हत्या हुँदा पारुहाङ पनि घटनास्थलमा रहेको आशङ्का गरिएको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृत भन्छन्, ‘दुवै हत्या एक अर्कामा अन्तरसम्बन्धित देखिएका छन् ।’
पारुहाङको पनि टाउकोमा चोट देखिएको छ । सोमबार बिहान जंगलमा भेटिएका पारुहाङको शव पोस्टमार्टमका लागी भक्तपुरको केएमसी अस्पतालमा राखिएको छ । दुवै जनालाई एउटै समूहले हत्या गरेको प्रहरीको आशङ्का छ ।
हत्यामा संलग्न आशंकामा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्ने एकजना सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल हुन् । उनी मृतक हायुका बहिनी ज्वाइँ हुन । पक्राउ परेका अर्का एकजना आरोपीको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
कम्तीमा ३ जना मिलेर उनीहरूको हत्या गरेको आशङ्का गरिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्