आज रवि लामिछाने यसरि छुट्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनलाई थुनामुक्त गरिने भएको हो।

उच्च अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले लामिछानेलाई तीन सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशअनुसार उनी आफैँ रुपन्देही जिल्ला अदालतमा उपस्थित भई कागजी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले हिजो रिहा हुन सकेका थिएनन्।

अदालतको आदेशको अन्तिम बुँदामा बिगोको हकमा दायित्व सिर्जना भए तिर्न–बुझाउन मन्जुर हुने कागज गराउनुपर्ने उल्लेख छ। सोहीअनुसार बैंक जमानतको प्रमाणीकरण, सनाखत तथा अन्य कानुनी प्रक्रिया पूरा गरिएपछि मात्र उनलाई रिहा गरिने रुपन्देही जिल्ला अदालतले जनाएको छ।

रुपन्देही जिल्ला अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उच्च अदालतको पत्र प्राप्त भएपछि आवश्यक प्रक्रिया अघि बढाइएको हो। अदालतले निवेदनसँग पेस गरिएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानतलाई सर्तसहित स्वीकार गरेको छ।

लामिछाने हाल ललितपुरस्थित नख्खु कारागारमा थुनामा रहेका छन्। बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा यसअघि २०८१ माघमा राखिएको एक करोड रुपैयाँ धरौटी पुनः राख्नुपर्ने अदालतले जनाएको छ। सो धरौटी यसअघि फुकुवा भइसकेको जानकारी उनका कानुन व्यवसायीलाई गराइसकिएको छ।

अदालतको आदेशअनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मात्र लामिछानेलाई औपचारिक रूपमा थुनामुक्त गरिने कारागार व्यवस्थापन विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *