३० जेठ, काठमाडौं । देशभर कोरोनाको संक्रमणको जोखिम अहिले पनि कायमै छ । यहि कुरालाई ध्यानमा राखी काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसातादेखि १५ दिनसम्म थप्ने उपत्यकाका तीनओटै जिल्ला प्रशासनले जनाएका छन् ।
यसैबीच, उपत्यकामा कोरोना महामारी रोकथाम गर्न डेढ महिनाभन्दा धेरै समयदेखि लगाइएको निषेधाज्ञा असारदेखि खुकुलो बनाउने तयारीमा उपत्यकाका तीन प्रशासन कार्यालय जुटेका छन् ।
उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरी उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै लैजानु पर्नेमा काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले पनि सहमति देखाएका छन्।
एकै पटक निषेधाज्ञा खुकुलो पार्दा फेरी संक्रमण फैलिने सक्ने जोखिम रहेकाले गृह मन्त्रालयले तत्काल निषेधाज्ञा हटाउन नहुनेमा जोड दिए तापनि जिल्ला प्रशासन कार्यालय भने निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सहज बनाउनु पर्नेमा सकारात्मक देखिएका छन् । तर, कुन–कुन क्षेत्रमा खुकुलो बनाउने भन्नेबारे थप निर्णय नभइसकेको र निरन्तर सरोकारवालाहरुसँग छलफलमै रहेको प्रशासनका अधिकारीहरुले बताएका छन् ।
सरोकारवालाहरुसँग परामर्श र संक्रमणको समीक्षा गरी निषेधाज्ञा खुकुलो बनाउने तयारी जारी रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए।
जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डीसीसीएमसी)ले अझै एक साता काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लम्बाउन सुझाव दिइसकेको छ । शुक्रबार बसेको डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने सुझाव अनुसार एकसाता थप गर्ने तयारी प्रशासनको छ । निषेधाज्ञा लम्ब्याउनेबारे अनौपचारिक निर्णय भइसकेको छ ।
प्रशासनका अधिकारीको भनाइ अनुसार विकास निर्माणलाई प्राथमिकतामा राखेर सञ्चालन गर्न दिने तयारी छ । जेठ ३१ गतेसम्मको निषेधाज्ञामा बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएका छन् । अब यसलाई केही फेरबदल गरी १० बजेसम्म खुलाउन दिइने छ ।
निजी सवारी साधन जोरबिजोर लागु गरिनेछ । तर, सवारीमा आवतजावतमा पूर्ण स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । व्यवासायिक गतिविधि लामो समयदेखि ठप्प रहेकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने मोडालिटी ल्याइनेछ । भाडा पसल, पुस्तकालय, कस्मेटिक्स, फेन्सी पसलहरुका लागि समय तोकिनेछ । यस विषयमा आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर औपचारिक निर्णय गर्ने भनिएको छ ।
काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो हुनेबारे तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक आज बस्दै छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि ३१ गते सोमबार राति १२ बजे सकिँदैछ ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्