तरलता प्रशस्त तर लगानी सुस्त : गभर्नर पौडेलको चिन्ता’

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २७

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशमा लगानीको वातावरण कमजोर बनेका कारण वित्तीय प्रणालीमा ठूलो मात्रामा पैसा निष्क्रिय रूपमा थुप्रिएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का पदाधिकारीहरूसँगको भेटमा गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्थाहरूमा प्रशस्त तरलता रहे पनि लगानी प्रवाह हुन नसकेको उल्लेख गरे। उनका अनुसार अहिले लगानीकर्ताको आत्मबल घटेको र अर्थतन्त्र सुस्त गतिमा चलिरहेको छ।

“पैसा छ, तर लगानी हुन सकेको छैन,” गभर्नर पौडेलले भने, “लगानीका लागि प्रयास भइरहेको छ, तर परिस्थिति सहज छैन। कुनै क्षेत्रमै उत्साहजनक संकेत देखिँदैन।”

उनका भनाइमा विगतमा बैंक, बीमा, एयरलाइन्स, दूरसञ्चार, शिक्षा, स्वास्थ्य र घरजग्गा जस्ता क्षेत्रमा लगानीको प्रवाह थियो, तर अहिले ती क्षेत्रहरू समेत मन्द गतिमा छन्। घरजग्गा कित्ताकाट रोकिएपछि निजी क्षेत्रको आत्मविश्वास घटेको र नयाँ लाइसेन्सका लागि प्रतिस्पर्धा पनि कमजोर भएको उनले बताए।

गभर्नर पौडेलले थपे, “बजेटको आकार सन् २०५८–६० सालतिरको एक खर्ब रुपैयाँबाट अहिले १८–१९ खर्बमा पुगेको छ, तर त्यसअनुसारको आर्थिक सुधार देखिएको छैन।”

उनका अनुसार पछिल्ला आर्थिक र नीतिगत उतारचढावले बैंक तथा वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक नतिजामासमेत नकारात्मक असर पारेको छ। गभर्नर पौडेलले निकट भविष्यमा तुरुन्त सुधारको अपेक्षा गर्न नसकिने बताउँदै दीर्घकालीन संरचनात्मक सुधारका लागि सबै पक्ष एकसाथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Declan2875

    November 13, 2025

Leave a Reply

Your email address will not be published. Required fields are marked *