काठमाडौँ – नेपालकी राष्ट्रिय भलिबल खेलाडी कामना विष्ट माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा शानदार प्रदर्शन गर्दै चर्चामा आएकी छन्। उनी माल्दिभ्सको नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छिन्।
प्रतियोगितामा नैफारू क्लबले लगातार तीन खेलमा जीत हासिल गर्दै सेमिफाइनल यात्रा नजिक बनाएको छ, जसमा कामनाको प्रदर्शन निर्णायक बनेको छ। विशेषगरी, उनले तीनै खेलमा ‘प्लेयर अफ द म्याच’ बन्ने दुर्लभ उपलब्धि हात पार्दै आफ्नो कौशलको स्पष्ट प्रमाण दिएकी छन्।
- पहिलो खेलमा नैफारूले सोझो सेटमा ३–० ले जित दर्ता गर्यो (२५-१२, २५-०२, २५-२१)।
- दोस्रो खेलमा कडा प्रतिस्पर्धाबीच ३–१ को जित निकाल्यो (२५-२१, २२-२५, २५-२२, २५-१०)।
- तेस्रो खेल विशेष रूपमा रोमाञ्चक रह्यो, जहाँ कामनाको टिमले उषा भण्डारीको टिमविरुद्ध ३–२ को रोमाञ्चक जित दर्ता गर्यो (२१-२५, २५-२१, ०७-२५, २५-१३, १५-१३)।
कामनाको शक्तिशाली स्पाइक र बलियो ब्लक टिमको जितको मुख्य आधार बनिरहेको छ। उनको यथावत् फर्मले अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको उपस्थिति र क्षमतालाई पुष्टि गर्दै नेपाली भलिबलको गौरव बढाएको छ।
नेपालमै मात्र होइन, विदेशमा समेत निरन्तर उत्कृष्टता देखाइरहेकी कामना विष्ट युवा खेलाडीहरूका लागि प्रेरणादायी अनुहार बन्ने दिशातर्फ अगाडि बढिरहेकी छन्।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्