सुन पसलमा छापा हानेपछि जनकपुर तनावग्रस्त, १० जना प्रहरी घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक १

जनकपुरधाम — तिहारको पूर्वसन्ध्यामा जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडप भएपछि क्षेत्र तनावग्रस्त बनेको छ। जनकपुरधामको सोनारपट्टीस्थित एक ज्वेलर्समा प्रहरीले छापा हानेपछि उत्पन्न तनावले उग्र रुप लिँदा १० जना प्रहरी घाइते भएका छन् भने उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष सुरेन्द्र भण्डारीसमेत घाइते भएका छन्।

झडप बिहीबार राति ८ बजे तिर भएको हो। संजय ठाकुर नामक व्यवसायीले नयाँ सञ्चालनमा ल्याएको ज्वेलर्समा राजश्व छलिएको सूचनाको आधारमा प्रहरी पुगेको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुख डिएसपी गणेशबहादुर बमको नेतृत्वमा गएको प्रहरी टोलीले पसलबाट बिलबिजक बिना रहेको अनुमानित ७ किलो चाँदी बरामद गरेको जनाएको छ।

डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन ७ राउण्ड हवाइ फायर र २ सेल अश्रुग्यास प्रयोग गरिएको थियो। घटनामा संलग्न व्यवसायीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण भएको प्रहरीको दाबी छ।

“हामीले सुनचाँदी व्यवसायी संघका प्रतिनिधि बोलाएर कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेका थियौं,” डिएसपी बमले भने, “तर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी आएर प्रहरीमाथि उक्साहट र हातपात गर्न थालेपछि स्थिति विग्रियो।”

तर व्यवसायी पक्षले भने प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। द्योग वाणिज्य संघ जनकपुरका महासचिव फुलदेव पण्डितले धनतेरसको पूर्वसन्ध्यामा व्यवसायीलाई आतंकित पार्ने गरी प्रहरीले छापा मारेको भन्दै आक्रोश पोखेका छन्।

पण्डितका अनुसार संजय ठाकुर पूर्व कालीगढ हुन् र उनले हालै मात्र नयाँ ज्वेलर्स खोलेका थिए। प्रहरी सिभिल पोसाकमा आएर सबै चाँदी देखाउन दबाब दिएको र पछि थप प्रहरी आएर लाठीचार्ज र हवाइ फायर गरेको उनी बताउँछन्।

“धनतेरसको अघिल्लो दिन यसरी आतंक मच्चाउनु सरासर गलत हो। यदि दोषीमाथि कारबाही भएन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,” पण्डितले चेतावनी दिए।

उक्त छापाबारे जिल्ला प्रशासन कार्यालय भने अनविज्ञ रहेको देखिएको छ। प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले प्रहरीले औपचारिक जानकारी नदिएको बताएका छन्। “समन्वय गरेर छापा मारिएको भए राम्रो हुनेथियो,” उनले भने।

तर डिएसपी बमले भने छापा राजश्व अनुसन्धान विभाग, पथलैयाको सहमतिमा गरिएको दाबी गरेका छन्। “हामीले राजश्व विभागलाई पनि सँगै जान भनेका थियौं। तर उनीहरूले हामीलाई नै अनुसन्धान गर्न भनेपछि मात्र हामी छापा मार्न गएका थियौं,” उनले स्पष्ट पारे।

जनकपुरमा घटेको यो घटनाले प्रहरी र व्यवसायीबीचको सम्बन्धमा थप खटपट ल्याएको देखिन्छ। अबको चुनौती भनेको — सत्यतथ्य छानविन गरी दोषी को हो भन्ने छुट्याउनु र आउँदो चाडपर्वमा बजारमा शान्ति र विश्वास कायम गर्नु हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *