काठमाडौं, असोज १५ – जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित मौसमी प्रणालीका कारण आगामी असोज १७ देखि २० गतेसम्म नेपालमा भारी वर्षा हुने अनुमान गरेको छ। विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि तीव्र हुने सम्भावना छ।
मनसुन सक्रिय भएसँगै नारायणी, बागमती, कमला र कोशी नदी तथा ती नदीका सहायक खोलानालाहरूमा बहाव उल्लेखनीय रुपमा बढ्ने र कतिपय स्थानमा खतरा तहसम्म पुग्न सक्ने देखिएको छ। साथै, महाभारत र चुरे क्षेत्र हुँदै बहने साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि उच्च रहेको विभागको विश्लेषणले देखाएको छ।
उच्च जोखिममा रहेका १७ जिल्ला
विभागले उल्लेख गरेअनुसार निम्न जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ:
- बागमती प्रदेश: काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन
- कोशी प्रदेश: संखुवासभा, ताप्लेजुङ, इलाम, झापा
- मधेस प्रदेश: बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ
‘रेड अलर्ट’ जारी
विभागले विशेष सतर्कता अपनाउन आग्रह गर्दै असोज १७ देखि २० गतेसम्म रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लामा ‘रेड अलर्ट’ समेत जारी गरेको छ। यी क्षेत्रमा अत्यधिक वर्षाका कारण बाढी तथा पहिरोको जोखिम उच्च भएकाले सर्वसाधारणलाई सजग रहन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरिएको छ।
विभागको अपिल
मौसम विभागले हालसम्म नेपालमा मनसुन पूर्ण रूपमा नहटेको जानकारी दिँदै मौसमको अवस्था र बाढीको जोखिमबारे निरन्तर अनुगमन भइरहेको जनाएको छ। असोज १८ देखि २० सम्मको समयलाई विशेष संवेदनशील मानेर पूर्वसूचना र सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्