राजधानीमा महाकुलुङ गाउँपालिकाको ऐतिहासिक सेवा शिविर, ११४२ जनालाई प्रत्यक्ष सेवा

DaksuMedia दाक्सु मिडिया
|
२०८२ श्रावण २५

काठमाडौँ, साउन २५ – राजधानीमा बसोबास गरिरहेका महाकुलुङ गाउँपालिकाका नागरिकहरूका लागि सञ्चालन गरिएको प्रशासनिक घुम्ती सेवा शिविरबाट ११४२ जनाले सेवा लिएका छन्। गोकर्णेश्वर–६ स्थित शेर्पा पार्टी प्यालेसमा साउन २२ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको तीन दिने शिविरमा विभिन्न प्रशासनिक सेवाहरू प्रदान गरिएको थियो।

शिविरको सफल सञ्चालनमा गाउँपालिकाका पाँचै वडाका जनप्रतिनिधिहरू र कर्मचारीहरूको सक्रिय सहभागिता रह्यो। काठमाडौँमै सेवा प्रवाह गर्न वडास्तरका जनप्रतिनिधिहरू स्वयं उपस्थित भएर सेवा उपलब्ध गराउनुले सेवा प्रवाहलाई सहज, प्रभावकारी र जनमैत्री बनाएको छ।

गाउँपालिका अध्यक्ष सुर्य कुलुङको उपस्थितिमा उद्घाटन गरिएको शिविरमा नागरिकता, राहदानी सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, जन्मदर्तालगायत सेवा प्रदान गरिएको थियो।

गाउँपालिकाको लेखा अधिकृत धुर्व कुलुङका अनुसार तीन दिनको अवधिमा वडा नं। १ बाट १३५, वडा नं। २ बाट ६५, वडा नं। ३ बाट १४४, वडा नं। ४ बाट ७२, वडा नं। ५ बाट ३९६ जनाले सेवा लिएका थिए। यसबाहेक पालिकाभरिका ३३० जनाले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा लिएका थिए। कुल रूपमा ११४२ जनाले सेवा प्राप्त गरेका हुन्।

राजधानीमै सेवा उपलब्ध गराइएको हुँदा गाउँपालिकासम्म जानुपर्ने बाध्यता हटेको सेवाग्राहीहरूले बताएका छन्। अध्यक्ष कुलुङको नेतृत्वमा सुरु गरिएको यस अभियानप्रति सेवा लिने नागरिकहरूले खुलेर प्रशंसा व्यक्त गरेका छन्।

अध्यक्ष कुलुङले आगामी आर्थिक वर्षमा पनि राजधानी केन्द्रित यस्ता शिविरहरू पुनः सञ्चालन गरिने बताएका छन्। उनका अनुसार “राजधानीमा बस्ने आफ्ना नागरिकलाई सुविधाजनक सेवा दिने हाम्रो दायित्व हो।”

यो पहलले महाकुलुङ गाउँपालिकालाई प्रविधिमैत्री, पहुँचयोग्य र नागरिकमैत्री बनाउन थप टेवा पुगेको स्पष्ट भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *