निर्वाचनको सुरक्षा तयारी पूरा

DaksuMedia दाक्सु मिडिया
|
२०७९ मंसिर ३
मंसिर ३, २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा तयारी इलाममा पूरा भएको छ ।

२ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा ४ वटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालित भएका छन् ।

म्यादी प्रहरीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी एकीकृत सुरक्षा योजनाअनुसार परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुंगानाले जानकारी दिए ।

‘१० पालिका रहेको इलामका सम्पूर्ण क्षेत्रमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्,’ उनले भने, ‘सम्पूर्ण मतदानस्थल तथा केन्द्रमा निर्वाचनका लागि खटाइएका कर्मचारीका साथ सुरक्षा टोली शुक्रवार पुगिसकेका छन् । निर्वाचन सुरक्षाका सबै तयारी पूरा भइसकेको इलाममा भयरहित निर्वाचन सम्पन्न हुनेमा हामी ढुक्क छौं ।’

आगामी निर्वाचनका लागि जिल्लाभर ५५० नेपाली सेना, ४५४ सशस्त्र प्रहरी, ७७५ नेपाल प्रहरी, १ हजार ४४८ म्यादी प्रहरी र १५ सदस्य अनुसन्धान विभागको टोली खटाइएको छ । निर्वाचनका दिन खटिने गरी ४ वटा मोबाइल टोली बनाइएको छ । जिल्लामा प्रजिअको नेतृत्वमा र निर्वाचन क्षेत्रमा उपसचिवस्तरका कर्मचारीको नेतृत्वमा टोली परिचालित हुने प्रजिअ ढुंगानाले बताए ।

केही दिनअघि जिल्ला सुरक्षा समिति इलामले मतदानस्थलको अवस्था विश्लेषण गरेको थियो । सोअनुसार इलामका ३६ मतदानस्थललाई अतिसंवेदनशील रूपमा लिइएको छ । ५५ वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनी छुट्याइएको ढुंगानाले बताए ।

‘सुरक्षा अवस्था, भौगोलिक कठिनाइ वा दूरी र मतदाताको पहुँचजस्ता कुराले संवेदनशीलता पहिचान गरेका हौं,’ उनले भने, ‘संवेदनशील भनेर छुट्याइए पनि सबै मतदान केन्द्रको सुरक्षा व्यवस्था भने मजबुत बनाइएको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *