भक्तपुर | मंसिर ३, २०७९
आइतवार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरे ।
जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै उनले मतदानस्थल तयार पार्ने काम सम्पन्न गरेको जानकारी दिए । प्रजिअ शर्माले भने, ‘शान्ति सुरक्षाको पूर्णरूपमा सुनिश्चितता गरेका छौं, भक्तपुरमा भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेका छौं, त्यसका लागि आवश्यक तयारी पूरा भएको छ, निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्दछु ।’
प्रतिनिधि सभातर्फ २ र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा २२२ मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए । कर्मचारीका लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त मतदान केन्द्रमा समानुपातिक तर्फको मात्रै मतदान हुनेछ ।
निर्वाचनका लागि भक्तपुरमा १ हजार ७७६ निर्वाचन कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा ८ जनाका दरले कर्मचारी खटाएको जानकारी दिँदै उनले निर्वाचनमा ८८६ म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी २ हजार २१८ सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिनेछन् ।
निर्वाचनको दिन कर्मचारीमा कुनै समस्या नआओस् भनेर अतिरिक्त १० प्रतिशत कर्मचारी थप तयारी अवस्थामा तालिम दिएर राखेको उनले जानकारी दिए ।
भक्तपुरमा कूल १ लाख ९४ हजार ४३९ मतदाता रहेका छन् । भक्तपुरका कूल मतदातामध्ये महिला ९९ हजार ७५१, पुरुष ९४ हजार ६८३ र अन्य ५ जना रहेका छन् ।
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्