सिंह, धानुक र पन्तलाई एआइजी बढुवालगत्तै फुली

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र १७

१७ चैत , काठमाडौ ।

मन्त्रिपरिषद बैठकले बढुवा निर्णय गरेको केही समयमै तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले हतार-हतार बिहीबार अपराह्न प्रहरी प्रधान कार्यालयमा तीन जनालाई बढुवाको दर्ज्यानी चिन्ह दिएका हुन्।

बढुवामा नपरेर असन्तुष्टहरू अदालतको ढोका पुग्न नपाई क्षत्रीले बढुवा भएकाहरूलाई दर्ज्यानी चिन्ह दिएका हुन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डिआइजीहरू धीरजप्रताप सिंह, वसन्तकुमार पन्त र रविन्द्रबहादुर धानुकलाई बढुवा गरेको थियो।

गृह मन्त्रालयले गत चैत १ गते उनीहरूलाई एआइजी बढुवामा सिफारिस गरेको थियो। लोकसेवा आयोगमा उजुरी परे पनि आयोगले त्रुटि नभेटेको भन्दै राय दिएपछि सिंह, पन्त र धानुकको बढुवा अघि बढेको हो।

कार्यक्षमतामा अत्यन्तै कमजोर रहेका पन्त र धानुकलाई राजनीतिक शक्तिकेन्द्रले बढुवा सिफारिस गरेको भन्दै तीन जना डिआइजीहरू लोकसेवा आयोगको कार्यालयमा उजुरी दिन पुगेका थिए। सिंह र पन्त कांग्रेसको कोटामा र धानुक अर्थमन्त्री जनार्दन शर्माको कोटामा बढुवामा परेका हुन्।

तिनै डिआइजीभन्दा वरिष्ठ रहेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले संयुक्त रूपमा उजुरी दिए पनि लोकसेवाले बढुवामा त्रुटि नभेटेको दाबी गरेको थियो। उनीहरू सर्वोच्च अदालतमा निवेदन हाल्न पुगेका छन्।

पन्त वर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीका ब्याचमेट हुन्। उनी वैशाख १९ गते क्षत्रीसँगै अवकाशमा जानेछन्। अख्तियारमा कार्यरत् पन्तले आफूभन्दा वरिष्ठ कार्कीद्वय र अर्याललाई पछार्न शक्तिकेन्द्रमार्फत् दबाब बढाएका थिए।

प्रहरी महानिरीक्षक क्षत्री राजनीतिक शक्तिकेन्द्रसँग नतमस्तक हुँदा यो बढुवा विवादित बनेको छ। कार्कीद्वय र अर्याल क्षत्रीका ब्याचमेट हुन्।

सिंह र धानुक हालका एआइजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाका ब्याचमेट हुन्। उमेर हदका कारण धानुक असोजमा अवकाशमा जान्छन् भने सिंह एक वर्षसम्म पदमा रहन्छन्।

सिंह प्रहरी महानिरीक्षकको दौडमा रहेका अधिकृत हुन्। पोखरेल र थापासँगै उनी प्रहरी महानिरीक्षकको दाबेदार छन्।  

ती एआइजीले दर्ज्यानी चिन्ह पाएपछि उनीहरूलाई विभाग पनि छुट्याउन लागिएको छ। मानव स्रोत तथा प्रशासन विभागलाई टुक्र्याएर एक जनालाई पदस्थापन गर्ने तयारी छ। यस्तै, सात वटै प्रदेश हेर्नका लागि प्रदेश समन्वय विभाग बनाउन लागिएको छ।

हाल डिआइजी दरबन्दी रहेको केन्द्रीय अनुसन्धान ब्युरोमा एआइजी दरबन्दी कायम गरी अर्का एक जनालाई पदस्थापन गर्ने तयारी छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *