|
२०८३ श्रावण १५
काठमाडौं । धनुषाको सबैला नगरपालिका–१२ स्थित हनुमान मन्दिर परिसरमा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विषयसँग नजोड्न प्रहरीले आग्रह गरेको छ।
प्रहरीका अनुसार हंसपुर नगरपालिका–३ मल्हेनीया निवासी ४० वर्षीय बन्ठु राउत कडेरी बिहीबार राति मन्दिर परिसरमा मृत अवस्थामा फेला परेका थिए। उनको शरीरमा चोट देखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसुदन न्यौपानेले प्रारम्भिक अनुसन्धानमा घटना आपराधिक गतिविधिसँग सम्बन्धित देखिएको बताएका छन्। उनले घटनालाई धार्मिक विवादको रूपमा नहेरी शान्ति र सद्भाव कायम राख्न सहयोग गर्न सबैमा आग्रह गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसमेत परिचालन गरेको छ। मृतकको शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्