बोक्सीको आरोपमा पूर्व महिला दलित वडा सदस्य मुसहरिनलाई मानव मलमुत्र खुवाएको खुलासा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ बैशाख २०

काठमाडौं । बोक्सीको आरोपमा रौतहटको कटहरिया नगरपालिकाकी पूर्व वडा सदस्य महिलालाई मानव मलमुत्र खुवाइएको घटना बाहिरिएको छ ।
छिमेकीको घरमा जन्ती आएका एक बालकलाई जादू टुना गरेको आरोपमा कटहरिया–९ कि दलित समुदायकी पूर्व वडा सदस्य ५५ बर्षीया अंकलियादेवी मुसहरिनलाई शनिबार साँझ केही स्थानीयले बलपूर्वक मानव मलमुत्र खुवाएको घटना सार्वजनिक भएको हो ।

डुमरिया मुसहरी टोलमा पीडितको छिमेकी पुकार माझीका छोराको बिहेको अवसरमा पर्साबाट शनिबार सरियतिया ९छोरी पक्षको जन्ती० आएको समयमा जन्ती आएका एक १० बर्षीय बालकले उल्टी गरेका थिए । सोही बिषयलाई निहुँ बनाएर मुसहरिनले जादू टुना गरेर बच्चालाई मार्न खोजेको आरोप लगाउँदै १५ देखि २० जनाको भीड आएर पूर्व वडा सदस्य अंकलिया देवीको हात, जीउ र टाउको समातेर उनीहरूले बियरको बोतलमा घोलेर ल्याएको मूत्र बलपूर्वक खुवाएको पीडितकी छोरी सुमिलादेवी मुसहरिनले बताइन् ।

शनिबार साँझ ७ बजेको समयमा आमा छोरी मात्र घरमा भएको बेला स्थानीय पुकार माझी मुसहर, राजेन्द्र माझी मुसहर, लक्ष्मी माझी मुसहर, शंकर माझी मुसहर, सुरेन्द्रठाकुर लोहार, गौरी साह कलवारलगायत एक दर्जन भन्दा बढीको संख्यामा आएका मानिसहरूले एक्कासी घरभित्र पसेर बियरको बोतलमा घोलेर ल्याएको मलमुत्र बलपूर्वक खुवाएको छोरी सुमिलाले बताइन् ।

बिरोध गर्दा उनीहरूले कुटपिट समेत गरेको उनले बताएकी छिन् । घटनाको केही समयपछि ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मोहन आले मगरको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले पीडितको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो । सई मगरका अनुसार अचेत अवस्थामा रहेकी पीडित महिलालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएपछि हाल अवस्था सामान्य भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *