गुल्मी । गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले कुटपिट गर्दा बुवाको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।
प्रहरीका अनुसार २३ वर्षीय भोटबहादुर विकले आफ्ना बुबा ५० वर्षीय धनबहादुर विक र आमा ४८ वर्षीया दिलमाया विकमाथि हँसिया र काठको किला ठोक्ने मुङ्ग्रोले प्रहार गरेका थिए। उक्त घटनामा बुबा धनबहादुरको घटनास्थलमै मृत्यु भएको र आमाको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिएका छन्।
घाइते आमालाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल तम्घास हुँदै थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खवाङबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको नेतृत्वमा टोली घटनास्थल पुगेको र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहका प्रहरी निरीक्षक रेवन्त सेनको टोली पनि खटिएको प्रहरीले जनाएको छ।
प्रहरीले आरोपी छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, ती युवकको मानसिक सन्तुलन ठीक नभएको जनाइएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको छ।
छिमेकी र वडा सदस्य सूर्यबहादुर थापाका अनुसार मृतक धनबहादुरका परिवारमा ९० वर्षकी आमा र दुई छोरा छन्। जेठो छोरा भोटबहादुर मानसिक समस्याबाट ग्रसित रहेकाले परिवार चिन्तित थियो। “अघिल्ला केही दिनयता उनी निकै आक्रामक बनेका थिए,” उनले भने, “शनिवार भने बुवाआमामाथि हानेर नजिकै दिदीको घर पुग्दा पनि परिवारका अन्य सदस्यमाथि आक्रमण गर्न खोजेका रहेछन्।”
थापाका अनुसार गाउँमा अहिले त्रासको वातावरण सिर्जना भएको छ। “हामीले घाइतेलाई तम्घास पुर्यायौं, अहिले आमा खतरामुक्त रहेको जानकारी आएको छ,” उनले बताए।
प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्