सिरहाको लहानमा कुटपिटबाट एक महिलाको मृत्यु, ४ जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ११

काठमाण्डौँ । सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिकै पर्तीटोलमा पसलको सामान चोरी गरेको निहुँमा भएको कुटपिटका कारण एक महिलाको ज्यान गएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान कुटपिटबाट घाइते स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएकी उनलाई स्थानीयले उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । यस्तै कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक नुरजहाँ खातुनले खुट्टी खोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।

मंगलबार एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै उनले युवकका हजुरबालाई गुनासो गरेकी थिइन् । त्यसपछि ‘मेरो नातिलाई चोरको आरोप लगाउने’ भन्दै परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको स्थानीयले जनाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *