काठमाडौँ । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै १६ वर्षपछि पुनः विश्व फुटबलको सर्वोच्च सम्मान आफ्नो नाममा लेखाएको छ। फाइनलमा साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनी टोली च्याम्पियन बनेको हो।
अमेरिकाको न्युजर्सीस्थित स्टेडियममा सम्पन्न निकै प्रतिस्पर्धात्मक फाइनलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा टुंगिएको थियो। त्यसपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
खेलको १०६औँ मिनेटमा स्पेनका आक्रमणकर्ता फेर्रान टोरेजले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए। उक्त गोल नै खेलको एकमात्र गोल सावित भयो र स्पेनले ऐतिहासिक जित हात पार्यो।
अर्जेन्टिनाले निर्धारित समयको अन्त्यतिर ठूलो झट्का बेहोर्नुपरेको थियो। मिडफिल्डर एन्जो फर्नान्डेजले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डसहित मैदान छाडे, जसका कारण अर्जेन्टिना १० खेलाडीमा सीमित भयो। संख्यात्मक कमजोरीको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा गोल निकाल्न सफल भयो।
स्पेनले यसअघि सन् २०१० मा पहिलोपटक विश्वकप जितेको थियो। त्यसयता दोस्रो उपाधिको खोजीमा रहेको टोलीले १६ वर्षपछि पुनः विश्व फुटबलको ताज पहिरिन सफल भएको हो।
फाइनलअघि सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले पराजित गरेको थियो भने अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि भिडन्तमा स्थान बनाएको थियो। रोमाञ्चक प्रतिस्पर्धापछि स्पेनले अन्ततः विश्वकप ट्रफी उचाल्दै आफ्नो स्वर्णिम इतिहासमा अर्को अध्याय थपेको छ।

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्