स्वीकृतिविना विदेश गए राखेपले सहभागी हुने तथा गराउने व्यक्ति र संस्थामाथि कारबाही गर्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८३ जेष्ठ ७

काठमाण्डौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले परिषद्को स्वीकृतिविना अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुने तथा गराउने व्यक्ति र संस्थामाथि आवश्यक कारबाही गरिने जनाएको छ।

राखेपले शिक्षा तथा खेलकुद मन्त्रालयलाई बुधबार पत्राचार गर्दै राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार परिषद्को पूर्वस्वीकृति बिना कुनै पनि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, गोष्ठी, सेमिनार तथा खेलकुदसम्बन्धी कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्न नपाइने स्पष्ट पारेको हो।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ (क) मा परिषद्को स्वीकृति लिएर मात्र खेलाडी वा सदस्यलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाउन सकिने कानुनी व्यवस्था रहेको छ। परिषद्मा दर्ता तथा आबद्ध रहेका खेल संघ/महासंघ मात्र नभई आबद्धता नलिएका संस्थाले समेत अन्तर्राष्ट्रिय कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दा परिषद्को अनिवार्य स्वीकृति लिनुपर्ने उल्लेख छ।

पछिल्लो समय केही खेल संघ, महासंघ तथा अन्य संस्थाले विभिन्न उद्देश्यले परिषद्को स्वीकृतिविना अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाउने तथा गराउने गरेको जानकारी प्राप्त भएको परिषद्का प्रमुख प्रशासन विभागका भोजानन्द राईले बताएका छन् । यस्तो कार्यले राष्ट्रको स्वाभिमान र प्रतिष्ठामा असर पुग्ने भन्दै परिषद्ले यस्ता गतिविधिलाई निरुत्साहित गर्दै खेलकुदको विकास, विस्तार र प्रवर्द्धनमा जोड दिन आवश्यक रहेको बताएको छ।

परिषद्को ७ वैशाखको सदस्य–सचिवस्तरीय निर्णयअनुसार शिक्षा तथा खेलकुद मन्त्रालयमार्फत गृह मन्त्रालय, अध्यागमन विभाग लगायत सम्बन्धित निकायमा आवश्यक कारबाहीका लागि सिफारिस गर्न अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

1 Comments

  1. Amelie1032

    May 22, 2026

Leave a Reply

Your email address will not be published. Required fields are marked *