काठमाडौं—आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थल तोकिएका छन्। निर्वाचन आयोगले मतदातालाई पायक पर्ने गरी १६८ नयाँ मतदानस्थल थप गरेको हो।
यसअघि रहेका १० हजार ८९२ मध्ये प्रयोगमा नआएका तथा असहज ठानिएका ९३ मतदानस्थल खारेज गरिएको आयोगले जनाएको छ। पुनरावलोकनका क्रममा मतदानस्थलको नाम र ठेगानामा भएका त्रुटि सच्याइँदै केही मतदातालाई नजिकका मतदानस्थलमा समायोजन गरिएको छ।
आयोगका अनुसार एउटै वडाभित्र मतदाताले आफूलाई सहज पर्ने अर्को मतदानस्थलमा नाम सार्न निवेदन दिन सक्ने व्यवस्था गरिएको थियो। दाबी–विरोधका लागि पनि समय दिइएको थियो।
यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी भएसँगै समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत २०७८ को जनगणनाअनुसार निर्धारण गरिएको छ। अब राजनीतिक दलहरूले यही आधारमा उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फ आवेदन दिएका दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्दसूची बुझाउनुपर्नेछ।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्