काठमाडौं – नेपाल प्रहरीले आफ्नो ७०औं स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई विशेष सम्मान गरेको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित स्थापना दिवसको विशेष समारोहमा प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले अध्यक्ष श्रेष्ठलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानाको पुनर्निर्माणमा एनआरएनएले महत्त्वपूर्ण सहयोग गरेको कारण अध्यक्ष श्रेष्ठलाई सम्मान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अध्यक्ष श्रेष्ठले ट्राफिक सुरक्षामा एनआरएनएको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै, आउँदा दिनमा पनि आवश्यकतानुसार सहयोग गर्न तयार रहेको बताए।
एनआरएनए उपाध्यक्ष मनोजकुमार श्रेष्ठका अनुसार हाल उपत्यका ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ, जसमा करिब ८० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। हाल कन्ट्रोल रुममा आवश्यक उपकरण जडानको काम भइरहेको छ र केही दिनमै ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिने जनाइएको छ।
सम्मान समारोहमा एनआरएनएका पूर्व अध्यक्षहरु विनोद कुँवर, राजेन्द्रकुमार (आरके) शर्मा, पूर्व महासचिव जानकी गुरुङ, वर्तमान कार्यसमिति उपाध्यक्ष मनोजकुमार श्रेष्ठ, विश्वदीप तिगेला, महासचिव बाबुराम (बीआर) लामा, सचिव तिलक गैरे, महिला संयोजक रश्मी थापा, युवा संयोजक भिमसेन थापा, युवा उद्यमी तथा समाजसेवी नारायण भण्डारी, विपद् व्यवस्थापन समितिका सदस्यसचिव धर्मराज गिरी, एनआरएनएका कार्यकारी निर्देशक रविकिरण अधिकारी, सञ्चारकर्मी विवश काफ्ले लगायतको उपस्थिति रहेको थियो।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्