
काठमाडौं । सिन्धुली श्रेष्ठ समाज काठमाडौंको आठौं वार्षिक साधारण सभाले होटल तथा पर्यटन व्यवसायी युवराज श्रेष्ठलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरेको छ। श्रेष्ठ होटल संघ नेपालका कोषाध्यक्षसमेत हुन्।
शनिबार सम्पन्न सभामा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले राजधानीमा बसोबास गर्दै आएका सिन्धुली घर भएका श्रेष्ठ समुदायका सदस्यहरूलाई एकै थलोमा समेटी आपसी एकता र भाइचाराको भावना प्रवर्द्धन गर्दै समाजले सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको उल्लेख गरे।
श्रेष्ठले शिक्षाका लागि काठमाडौं आएका सिन्धुलीका विद्यार्थी तथा अन्य सदस्यहरू समस्यामा परेका बेला समाजले सक्दो सहयोग गर्दै आएको स्मरण गरे। साथै, उनले सिन्धुली जिल्लाको आर्थिक तथा सामाजिक विकासमा पर्यटन क्षेत्रको विशेष योगदान रहने विश्वास व्यक्त गरे।
“सिन्धुलीका पर्यटकीय सम्भावना अत्यन्त उच्च छन्। यहाँका सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व भएका गन्तव्यहरूको प्रचार-प्रसार गरेर पर्यटनमार्फत स्थानीय आर्थिक अवस्था बलियो बनाउने हाम्रो लक्ष्य हो,” श्रेष्ठले बताए।
उनका अनुसार हालै सिन्धुली क्षेत्रमा पर्यटन पूर्वाधारहरू उल्लेख्य रूपमा विकास भइसकेका छन्। विभिन्न उत्कृष्ट होटल तथा सेवा सुविधाहरू सञ्चालनमा आईरहेका छन्, जसले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई स्तरीय आतिथ्यता प्रदान गरिरहेका छन्।
श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्वले सिन्धुली श्रेष्ठ समाज काठमाडौंलाई थप व्यवस्थित, समावेशी र समाजप्रति उत्तरदायी बनाउँदै लैजाने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया