गण्डकी : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतले जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट गरेका छन् ।
शुक्रबार बागलुङका सहिद डिल्लीप्रसाद शर्माको घरमा भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा अध्यक्ष दाहालले सहिद र बेपत्ताजनका आफन्तलाई सम्मान गरेका थिए । अध्यक्ष दाहालसहितका नेताहरूले सहिद परिवारका सदस्यसँगै बसेर खाजा खाएका थिए । त्यसअघि जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाका सहिद परिवारका सदस्यलाई अध्यक्ष प्रचण्डले सम्मान गरेका थिए ।
अभियान टोली बिहीबार बागलुङ आइपुगेको थियो । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार र गलकोटको हटिया, ताराखोला गाउँपालिकाको अर्गल र बागलुङ बजारमा जनसभाको आयोजना गरिएको माओवादी केन्द्रका जिल्ला इञ्चार्ज राजीव घिमिरेले जानकारी दिए । ताराखोला गाउँपालिकामा सहिद उद्यान उद्घाटन र सालिक अनावरणसमेत गरिएको थियो ।
अभियान टोली शुक्रबार बागलुङबाट पर्वत हुँदै कास्की आइपुगेको छ । अभियानमा पार्टी अध्यक्ष दाहालसहितका शीर्ष नेताहरू सहभागी छन् । अभियान अन्तर्गत शनिबार गण्डकी प्रदेशको राजधानी पोखरामा जन सभा हुने जनाइएको छ ।
माओवादी केन्द्रले लोकमार्गमा परेका प्रत्येक प्रदेशमा एक र एक वटा जन सभा र प्रत्येक जिल्लामा कम्तीमा एक र एक अन्तरसंवाद गर्ने गरी यही जेठ २ गते बैतडीको पाटनबाट उक्त अभियान सुरू गरेको थियो ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्