×

मधेसी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छ : दाहाल

फाल्गुन १८, २०८१ | दाक्सु मिडिया

धनुषा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन्।

धनुषाको कमला नगरपालिका ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो धारणा राखेका हुन्। महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदान गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले उल्लेख गरे।

मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए।

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यावहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयत, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट गरे।

अध्यक्ष दाहालले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्ण रूपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे। पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनले यो पोशाक मात्रै नभई आफूहरूको मन पनि मधेसमा छ भन्ने विम्ब भएको उनले स्पष्ट गरे।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: