
काठमाडौँ : गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव रामचन्द्र तिवारीले पाएका छन्। सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीबाट हालै गृह मन्त्रालयमा सरुवा गरिएका तिवारीलाई प्रवक्ताको समेत जिम्मेवारी तोकिएको हो। तिवारीलाई मन्त्रालयमा सुरक्षा समन्वय माहाशाखा प्रमुखको जिम्मेवारी तोकिएको छ। मन्त्रालयमा सुरक्षा समन्वय महाशाखा प्रमुखलाई नै प्रवक्ताको जिम्मेवारी दिइने गरिएको छ।
अर्को साताबाट तिवारीले जिम्मेवारी सम्हाल्नेछन्। सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा उनले ७ महिना काम गरे। यसअघि उनले वाणिज्य मन्त्रालयमा दुईपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा र उद्योग विभागको महानिर्देशकका रूपमा पनि काम गरिसकाे छन्। त्यसअघि भने तिवारी गृह मन्त्रालय मातहत नै कार्यरत थिए। यसअघि मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका उनले अध्यागमन विभाग र कारागार व्यवस्थापन विभागको पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया