काठमाडौँ : रुसी अदालतले स्थानीय श्रम कार्यालयबाट श्रम इजाजत (लेवर परमिट) बिना काम गर्ने ३४ जना नेपाली विद्यार्थीलाई डिपोर्ट (देश निकाला) गर्न आदेश दिएको छ । ती विद्यार्थीहरुलाई डिपोर्टेशन सेन्टरमा नेपाल पठाउन राखिएको छ । विद्यार्थी भिसामा रुस पुगेका ती विद्यार्थीहरुले विश्वविद्यालयको सहमति र श्रम इजाजतबिना काम गरेको भन्दै डिपोर्ट गर्ने फैसला सुनाइएको हो ।
उनीहरुलाई गत कार्तिक १४ गते रुसी अध्यागमनका अधिकारीहरुले मस्कोको कुजमिन्कीस्थित जुवा खेलाउने कम्पनी वान एक्स वेटबाट पक्राउ गरेको हो । त्यहाँ उनीहरु कल सेन्टरमा काम गर्थे । जसमा १२ जना महिला विद्यार्थी रहेका छन् ।
पक्राउ लगत्तै प्रहरीले स्थानीय अदालतमा पेश गरेको थियो । गैरआवासीय नेपाली संघ, रुसका अध्यक्ष केशव तिमल्सिनाका अनुसार ती विद्यार्थीहरुलाई मस्कोबाट ६० किलोमिटर टाढा पर्ने शाखा रवाहस्थित डिपोर्टटेशन सेन्टरमा राखिएको छ । उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको छ । जसमा तीन महिनादेखि डेढवर्ष अगाडि रुस आउनेहरु छन् ।
‘ती नेपालीको विद्यार्थीको हैसियतमा बस्न पाउने भिसा छ । यसले मात्रै काम गर्न पाइँदैन । काम गर्नको लागि कम्पनीसँग करारपत्र हुनुपर्छ । उनीहरुले विश्वविद्यालयबाट पढिरहेको कागज पनि ल्याउन सकेनन् । दोस्रो उनीहरुले काम गरेको करारपत्र पनि ल्याउन सकेनन्,’ अध्यक्ष तिमल्सिनाले भने,‘ती दुई वटा कागजपत्र पेश गर्न सकिएको भए अपिलको लागि वकिलको व्यवस्था गरिदिन सकिन्थ्यो । वकिलले डिपोर्ट रोक्नको लागि अपिल गर्न सक्छ । उनीहरुले कुनै पनि कागज जुटाउन असमर्थ भए ।’
उनीहरु काम गर्न नै भनेर विद्यार्थी भिसाको आवारणमा आएकोले डिपोर्ट हुने फैसला भएको उनले बताए । डिपोर्ट भएपछि ५ वर्ष रुस आउन पाइँदैन । दुई वर्ष अघिपनि १५ जना विद्यार्थीलाई १४ दिनभित्र जेलमा राखेर डिपोर्ट गरिदिएको थियो । ‘जुन कम्पनीको लागि वर्कपरमिट लिएको छ । त्यो कम्पनीमा मात्रै काम गर्नुपर्छ । अरु कम्पनीमा जान पाइँदैन । त्यो हुने बित्तिकै सिधै डिपोर्ट गर्छ । धेरै मान्छेले लोभ देखाएर मान्छे ल्याउने, बिचल्ली बनाउने, बाहिर पठाउने भनेर रसियालाई ट्रान्जिट बनाएको छ,’ उनले भने,‘रसियामा एजेन्टको मिलोमतोमा विद्यार्थीको आवरणमा काम गर्न पठाइरहेको छ । काम गर्दा अध्यागमनले झ्याम्पै समातिहाल्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया