×

गजामा ६ बन्धक मारिएपछि हजारौं इसराइली निस्किए सडकमा

भदौ १७, २०८१ | दाक्सु मिडिया

काठमाडौं : गजामा ६ जना बन्धकको मृत्यु भएपछि इसराइलमा प्रधानमन्त्री बेन्यामिन नेतन्याहुविरूद्ध देशव्यापी प्रदर्शन भएको छ। हमासको बन्धकमा रहेका आफ्ना नागरिकहरुलाई छुटाएर देश फर्काउने विषयमा प्रधानमन्त्री नेतन्याहु गम्भीर नरहेको बताउँदै उनीहरूले तत्काल बन्धक छुटाउने पहल गर्न माग गर्दै देशव्यापी प्रदर्शन गरेका हुन्।

आइतबारदेखि दसौं हजार मानिसहरू हातमा इसराइली झन्डा बोकेर राजधानी तेल अविभ, जेरूसलेम लगायतका शहरका सडकमा निस्किएका छन्। अन्यत्र पनि ठुल्ठूला प्रदर्शन भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सोमबार त्यहाँको राष्ट्रिय ट्रेड युनियनले महासंघले नै आम हड्तालको आह्वान गरेको छ। आम हड्तालका कारण विभिन्न क्षेत्र प्रभावित भएका छन्।

प्रदर्शनकारीहरूमाथि त्यहाँको सुरक्षाकर्मीले पानीको फोहोरा, अश्रुग्यास प्रहार गरी भिड तितरबितर बनाउने प्रयत्न गरेपनि प्रदर्शन जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तेल अविभमा २९ जना प्रदर्शनकारी पक्राउ परेका छन्। सरकारले आन्दोलनमा उत्रिएका कर्मचारीहरूको तलब कटौती गर्ने घोषणा गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार देशभरका विद्यालय, अस्पताल, विभिन्न सरकारी कार्यालयहरूमा कर्मचारीहरूले काम रोकेका छन्। जेरूसलेममै लाइट रेल नेटवर्क दिउँसोसम्म बन्द हुने बताइएको छ। राजधानी तेल अविभस्थित देशकै सबैभन्दा ठूलो बेन-गुरियन अन्तर्राष्ट्रिय हवाई अड्डाका कर्मचारीहरूले पनि केही क्षेत्रमा केही समय काम रोक्ने बताएका छन्।

शनिबार राफामा इसराइली सैनिकहरूले ६ वटा शव फेला पारेका थिए। ती शवहरू बन्धकको रहेको खुलेपछि इसराइलमा नागरिकहरू आन्दोलनमा उत्रिएका हुन्। हमासले इसराइलबाट प्रहार भएको हवाई हमलामा परी ती ६ बन्धकको मृत्यु भएको भनेको छ। हमासका शीर्ष नेता खलिल अल हाय्याले नेतन्याहुका कारण ती ६ बन्धकको मृत्यु भएको भनेका छन्।

उनले इसराइलकै हवाई आक्रमणमा परी दर्जनौं बन्धकको मृत्यु भएको समेत बताएका छन्। बन्धकहरूमा एकजना अमेरिकी मूलका इसराइली नागरिक समेत रहेको बताइएको छ। यसबारे इसराइली डिफेन्स फोर्सले सुरक्षाकर्मी सुरूङमा पुग्दा ती ६ बन्धकहरु मृत्यु भइसकेको अवस्थामा भेटिएको बताएको छ।

अमेरिकाले पनि इसराइसँग गजामा बन्धकको शव भेटिएकोबारे जवाफ मागेको छ। प्रदर्शनकारीहरूले सरकारले बन्धक रिहा गराउनका लागि हमाससँग लचिलो भएर वार्ता नगरेसम्म नरोकिने बताएका छन्। गत अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २४९ जनालाई बन्धक बनाएर गजा पुर्‍याएको थियो।

बीचमा युद्धबिराम हुँदा हमासले केही बन्धक रिहा गरेको थियो। नेपालका विपिन जोशीसहित १०७ जना बन्धक अझै गजामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: