हजारौँ मानिसहरुको भीडभाड रहेको काबुल एयरपोर्टमा अमेरिकी सेनाले चलायो गोली

DaksuMedia दाक्सु मिडिया
|
२०७८ श्रावण ३२

काठमाडौं । हजारौँ मानिसहरुले भरिभराउ बनेको अफगानिस्तानको राजधानी काबुलस्थित अन्तरािष्ट्रय विमानस्थलमा अमेरिकी सेनाले गोली चलाएको छ ।

विद्रोही समूह तालिबानले देश कब्जा गरेपछि अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको लर्को लागेको अवस्थामा सेनाले गोली चलाएको हो ।

भीड अनियन्त्रित भएको कारण अमेरिकी सेनाले गोली चलाएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।

समाचार संस्था एएफपीका अनुसार आफ्ना राजदूत, कर्मचारी, नागरिक र अन्य विदेशीलाई काबुलबाट बाहिर जान सघाउने उद्देश्यले अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएको हो। विमानस्थलमा अनियन्त्रित भिड भएपछि सोमबार बिहान केही राउन्ड हवाई फायर गरिएको एएफपीले जनाएको छ।

अत्यधिक भीडको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । मिडियाले विमानस्थल कुनै अव्यवस्थित बसपार्क जस्तै बनेको बताएका छन् ।

डेलिमेलका अनुसार काबुलको विमानस्थलमा गोली चलेसँगै सैन्य उडानबाहेकका सबै उडान रद्द गरिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सुरक्षा दिइरहेको छ । साथै उसले अफगानिस्तानको एयर ट्राफिक कन्ट्रोललाई पनि आफ्नो नियन्त्रणमा लिएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार नेटोका एक अधिकारीले सेनाको विमानबाहेक अन्य सबै व्यवसायिक उडान रद्द गरिएको जानकारी दिएका हुन् । नेटोले विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन प्रयास गरिरहेको बताएको छ ।

तालिबानले देश नियन्त्रणमा लिएसँगै राष्ट्रपति अशरफ घानीले हिजो नै देश छोडेका छन् । अब शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *