×

इजरायल विरूद्ध प्रदर्शन : बेलायतदेखि बंगलादेश सम्म मानिसहरू उत्रिए सडकमा

जेष्ठ २, २०७८ | दाक्सु मिडिया

विगत ६ दिन यता देखि इजरायल र हमास बीचको युद्ध चलिरहेको छ। यस युद्धमा अहिलेसम्म १२६ जनाले ज्यान गुमाएका छन् भने ती मध्ये ३१ बालबालिका रहेका छन्। आक्रमणमा ९५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। मृत्यु भएकाहरु मध्ये ९ जना इजरायली र बाँकी सबै प्यालेस्तिनी रहेका छन्।

हिंसाको दर्दनाक तस्बिर सामुन्ने आइसकेपछि विश्वभर इजरायलको बिरूद्ध प्रदर्शनहरू सुरु भएको छ। अमेरिका, लन्डन, फ्रान्स बाहेक सिरिया र बंगलादेशका मानिसहरूले पनि सडकमा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरिरहेका छन्।

शनिबार सेन्ट्रल लन्डनको सडकमा हजारौं व्यक्तिहरुले प्रदर्शन पनि गरेका थिए। प्रदर्शनकारीहरूले युनाइटेड किंगडम (युके) लाई हस्तक्षेप गर्न माग गर्दै इजरायली दूतावास अगाडि ‘फ्रि प्यालेस्टाइन’ को नारा लगाएका थिए। ब्रिटेनका लागि प्यालेस्टाइनका दूत हसुम जुम्लाउतले भने, “प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गर्नेहरू सम्पूर्ण मानवताका साँचो सहयोगी हुन्।” यस बाहेक, मानिसहरूले अमेरिकी राजधानी वाशिंगटन डिसीमा समेत प्रदर्शन गरेका छन्।

फ्रान्सेली राजधानी पेरिसमा पनि शुक्रबार सयौं प्रदर्शनकारीहरू विदेश मन्त्रालय नजिकको चौरमा भेला भएका थिए। हातमा प्यालेस्टाइनको झण्डा बोकेका प्यालेस्तिनी समर्थक प्रदर्शनकारीहरूले त्यहाँ इजरायल विरोधी नारा लगाएका थिए। फ्रान्सेली पुलिसले ती प्रदर्शनकारीहरूलाई तुरुन्तै बाहिर निस्कन आदेश दिइ केहि व्यक्तिलाई जरिवाना ‌समेत तिराएको थियो।

यो सङ्गै इजरायलको विरुद्ध कारबाहीको माग गर्दै सयौं जोर्डिनवासीहरूले शुक्रबार जोर्डन-इजरायल सीमामा प्यालेस्टाइनको समर्थनमा प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले आफ्नो सरकारलाई इजरायलको बिरूद्ध कडा कदम चाल्न माग गरे।

कोरोनाको प्रकोप बढ्दै गएतापनि बंगलादेशको राजधानी ढाकामा पनि इजरायल विरुद्ध प्रदर्शन गरिएको थियो। भेला भएका व्यक्तिहरूले ईदको समयमा समेत प्यालेस्टाइनमा गरिएको हवाई हमलाको विरोध गरेका छन्। नामाज पछि जम्मा भएका सयौं व्यक्तिले मस्जिद बाहिर प्यालेस्टाइनका मानिसहरूको स्वतन्त्रताको माग गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: