चितवन : बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं-भरतपुर उडान गर्ने भएको छ। धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्न लागेको हो।
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठूलो जहाज सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए। गत साता श्री एयरले काठमाण्डौं-भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ। बस्नेतका अनुसार एयरलायन्सले अनुमति प्राप्त गरिसकेकाले परीक्षण उडानसँगै नियमित उडान गरिनेछ।
काठमाडौं-भरतपुर दैनिक नौवटा र भरतपुर पोखरा दैनिक एउटा सञ्चालनमा छ। यो जहाजको क्षमता ४७ सिट भए पनि धावनमार्ग र गर्मीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। अब सञ्चालन गर्न लागिएको जहाज एटिआर-७२ हो। बुद्धले सन् २००५ बाट नियमित भरतपुर उडान गर्दै आएको छ। अहिले मासिक ११ हजार भन्दा बढी यात्रुलाई बुद्ध एयरले सेवा दिइसकेको छ।
धावनमार्ग छोटो भएकाले जहाजका सबै सिट भरेर सञ्चालन गर्न नसकिने उनले बताए। बस्नेतका अनुसार जहाजले काठमाडौंबाट भरतपुर आउँदा ६० देखि ६२ जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना यात्रु बोक्ने अनुमान गरिएको छ। अहिले बुद्धको एटिआर-४२ जहाज काठमाडौं र पोखरा सञ्चालन हुँदै आएका छन्
साना जहाज उडान हुँदा एकतर्फी भाडा चार हजार सात सय भन्दा बढी छ। ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ। भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण र धावन मार्गसमेत विस्तार हुँदैछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्