
सोलुखुम्बुबाट काठमाण्डूका लागि मङ्गलवार बिहान उडेको मनाङ एअरको हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार छ जनाकै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बताएका छन्।
जिल्लाको लाम्जुरा क्षेत्रस्थित दुर्घटनास्थलमा सुरक्षाकर्मीहरू पुगिसकेको जानकारी दिँदै उनले भने, “पाँच जनाको शव भेटिएको छ भने अर्का एक जनाको शरीरका क्षतविक्षत टुक्रा फेला परेका छन्।”
उक्त हेलिकप्टरमा पाइलटसहित छ जना सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।
सिटौलाका अनुसार हेलिकप्टरमा मेक्सिकोका पाँच नागरिक थिए।
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार दुर्घटनामा परेको हेलिकप्टर रूखमा ठोकिएको देखिएको छ।
यसअघि सोलुखुम्बुको लिखु पिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नं ५ मा “हेलिकप्टर क्षतविक्षत अवस्थामा देखिएको जानकारी एक होटल व्यवसायीले आफूलाई दिएको” बताइन्।
मनाङ एअरको अभिलेखअनुसार हेलिकप्टरमा तीन महिला र दुई पुरुष यात्री चढेको विवरण सार्वजनिक भएको छ।
सग्लो फेला परेका शवमध्ये पाइलटको पनि रहेको अधिकारीहरूले बताएका छन्।
सोलुखुम्बु जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णप्रसाद निरौलाका अनुसार जिल्लाको विकट लाम्जुरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको भन्ने विवरण आएपछि सुरक्षाकर्मीहरू परिचालन गरिएको बताएका थिए।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त हेलिकप्टर बिहान १०ः०५ बजे काठमाण्डूका लागि उडेको थियो।
तर १०ः१३ बजेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ।
सम्पर्कविच्छेद हुँदा हेलिकप्टर १२,३०० फिटको उचाइमा रहेको अधिकारीहरूले बताएका छन्।
मौसमका कारण बाधा
खोजी तथा उद्धारका लागि नेपाली सेना, प्रहरी र काठमाण्डूबाट एल्टिट्यूड एअरको हेलिकप्टर परिचालन गरिएको थियो।
तर काठमाण्डूबाट गएका दुईवटा हेलिकप्टरले दुर्घटनास्थलमा अवतरण गर्न नसकेपछि २० मिनेटको पैदल दूरीमा अवतरण गरेको जानकारी सिटौलाले दिए।
यसअघि प्रमुख जिल्ला अधिकारी भट्टराईले दुर्घटना भएको आशङ्का गरिएको क्षेत्रमा “बाटोमा हिँड्ने मान्छेहरूले आगो बलेको देखेको जानकारी दिएको” बताएका थिए।
बिहान दुर्घटनास्थलमा बाक्लो कुहिरो लागेकाले काठमाण्डूबाट त्यस क्षेत्रमा पुगेका हेलिकप्टरहरूलाई खोजी कार्यमा बाधा पुगेको थियो।
के भन्छन स्थानीयवासी?
मङ्गलवार बिहान हेलिकप्टर दुर्घटनामा पर्दा कान्छा शेर्पा लाम्जुरास्थित आफ्नो निवासमा थिए।
“हेलिकप्टरको आवाज सुनिएको थियो। बादलले गर्दा देखिएन। पछि हाम्रो घरभन्दा झन्डै एक किलोमिटर पर रूखमा ठोक्किएर दुर्घटनामा परेको रहेछ,” शेर्पाले बीबीसी न्यूज नेपालीलाई फोनबाट बताए।
जङ्गलमा चउरजस्तो ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको उनले बताए। “त्यहाँ घारी र रूखहरू छन्,” उनले भने।
“मौसम खराब भएर होला (हेलिकप्टर) होचिएर आएको रहेछ,” उनले भने, “हेलिकप्टरको पुच्छर गोब्रे सल्लाको रूखमा ठोक्किएको रहेछ।”
सन् २०१८ बाट सञ्चालनमा थियो हेलिकप्टर’
मनाङ एअरका सुरक्षा प्रबन्धक राजु न्यौपानेका अनुसार कलसाइन नाइन एन–एएमभी रहेको हेलिकप्टर पाँच यात्रुसहित माउन्टेन फ्लाइटका लागि सोमवार काठमाण्डूबाट लुक्ला पुगेको थियो।
“मौसमका कारण सोमवार नै हेलिकप्टर फर्कन पाएन र आज (मङ्गलवार) फर्कने क्रममा थियो,” न्यौपानेले भने।
कलसाइन नाइन एन–एएमभी रहेको नयाँ हेलिकप्टर सन् २०१८मा नेपालमा भित्र्याइएको थियो।
एच-१२५ हेलिकप्टर एअरबस कम्पनीले उत्पादन गरेको कम्पनीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया