
कपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महराविरूद्ध असन्तुष्टि चुलिँदै गएको छ।
माओवादी सांसदहरू सार्वजनिक रूपमै महरालाई संसदीय दलको नेता मान्न नसकिने बताउन थालेका छन्।
बिहीबार दाङको निर्वाचन क्षेत्र नं. ३ (२) बाट निर्वाचित माओवादी केन्द्रीय सदस्य धनबहादुर मास्कीले महराका विषयमा पार्टीमा असन्तुष्टि रहेको बताए।
‘लुम्बिनीमा हाम्रो दलभित्र केही बेमल र असन्तुष्टि पैदा भएको साँचो हो,’ उनले भने, ‘दलको बैठक बसेर भएका सहमति, गरिएका निर्णयहरू माथि जे समझदारी भएको थियो त्यसविपरीत दलका नेता आफ्नो मनोमानी ढंगले चल्नु दुर्भाग्यपूर्ण हो।’
उनले स्वच्छाचारी रूपमा चल्ने दलका नेता महराले नैतिक हिसाबले आफ्नो पदीय हैसियत गुमाइसकेको दाबी गरे।
पार्टीको विधि नियमभित्र रहेर काम गर्नु पर्नेमा संसदीय दलका नेता महराले ती सबै प्रक्रिया कुल्चिएको हुँदा उनी संसदीय दलको नेता हुन लायक नभएको उनले तर्क गरे।
‘पार्टी भित्रको नीति र विधि मिचेपछि त कसैलाई पनि सो पदमा रही रहन अधिकार हुँदैन,’ उनले प्रश्न गरे, ‘दलको नेता जस्तो व्यक्तिले पात्र विशेषभन्दा पनि नेतृत्वले संगठनको नियम अनुसार र अन्य साथीको भावना अनुसार चल्न जान्नु पर्छ कि पर्दैन?’
व्यक्ति विशेषका भावना, चाहना र इच्छा अलग कुरा हुने भन्दै संसदीय दलका नेता व्यक्तिगत स्वार्थबाट प्रेरित रहेको उनको आरोप छ। कुनै पनि दलभित्र सबै क्षमता, प्रतिभा, क्षेत्र, लिंग, वर्ग र समुदायबाट प्रतिनिधित्व गरेको हुनुपर्ने उनले तर्क गरे।
उल्लेखित सबै कुराहरू समेटदै पार्टीलाई समावेशी बनाउन लाग्नुभन्दा पनि दलका नेता मनोमानी ढंगले अगाडि बढ्न खोजेको हुँदा समस्या जन्मिएको उनले बताए।
‘गठबन्धन सरकारमा दलको नेता भनेको पालो आउँदा मुख्यमन्त्रीको लाइनमा बस्ने हो। आलोपालो विधिबाट सबैको पालो पुर्याउने तरिका हुन्छ,’ उनले भने, ‘त्यसमा चाहिँ एकल निर्णय गरेर मन्त्री पनि म आफैं हुन्छु, मुख्यमन्त्री पनि भोलि मै हुने हो, अवसर पनि मेरो नजिकै पात्रले मात्रै पाउनु पर्छ भन्ने प्रवृत्ति उहाँमा देखियो।’
फेसबुकबाट तपाईको प्रतिक्रिया