×

मुग्लिन-नारायणगढ सडकखण्ड थप १५ दिन बन्द हुने

फाल्गुन ५, २०७९

नारायणगढ-मुग्लिन सडकखण्डको चिसेन्जी खोला र तुइनखोलामा पुलका लागि सडक बढाउन पहरो काट्ने काम नसकिएपछि थप १५ दिन सडक बन्द हुने भएको छ ।

गत पुस ५ गतेदेखि माघ ५ गतेसम्म पहिलो र माघ ५ देखि फागुन ५ गतेसम्म दोस्रोपटक १-१ महिनाको दरले दैनिक ४ घण्टा सडक बन्द गरेर पहरो काट्ने काम गरे पनि नसकिएपछि थप १५ दिन बन्द गर्न लागिएको सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए ।

सडक आयोजना प्रमुख कार्कीका अनुसार फागुन ६ गतेदेखि २० गतेसम्म १५ दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्न गरेर पहरो काट्ने काम गरिनेछ ।

तीन मुख्य स्थान कालिखोला, चिसेन्जी र तुइन खोलामा पुल बनाउन समस्या भएकोले पहरो काटेर पुलका लागि फाउण्डेशन बनाउन खोजिएको हो । कालिखोलाको भित्ता काट्ने काम सकेर पुलको फाउण्डेशन बनाउन काम जारी छ । चिसेन्जीको मुग्लिनतर्फको पहरो काट्ने काम लगभग सकिएको छ भने नारायणगढतर्फको ३० प्रतिशत काम अझै बाँकी छ ।

नारायणगढतर्फको तल्लो भागमा केही कडा चट्टान आए पनि थपिएको १५ दिनमा भ्याउने तयारी आयोजनाको छ । तुइन खोलाको मुग्लिनतर्फको भीर सबैभन्दा जटिल र गाह्रो भाग भएको निकै समय लागेको आयोजना प्रमुख किरण कार्कीले बताए । ६० मिटर अग्लो पहाडलाई काटेर करीव २५ मिटरमा झारिएको छ ।

समग्रमा दुई महिनामा ३५ प्रतिशत मात्रै काम तुइनको मुग्लिनतर्फको भागको सकिएको छ । ब्रेकरको सहायताले चट्टान काट्दा निकै समय लागेको र समस्या भएकोले आयोजनाका अधिकारीहरू अब विस्फोट गराउने तयारीमा जुटेका छन् ।

आयोजना प्रमुख कार्कीले दिएको जानकारी अनुसार तुइनको मुग्लिनतर्फको भागलाई अब विस्फोट गराएर फुटाउनुको विकल्प नभएकोले सबै प्रक्रिया पूरा गरेर फाइल विभाग हुँदै गृहमन्त्रालयमा लगेको बताउँछन् ।

उनका अनुसार गृहबाट रक्षा मन्त्रालयमा गएपछि नेपाली सेनाको प्राविधिक टोलीले पहरोमा कन्ट्रोल विस्फोट गर्नेछ । विस्फोटको सबै अधिकार र जिम्मा नेपाली सेनाले लिने गरेको छ ।

‘धेरै माथिबाट विस्फोट गराउँदा तल रहेको पुल र सडकलाई क्षति गर्नसक्ने अवस्था थियो, हामीले झण्डैं २ महिना लगाएर केही काटेर तल झारेका छौं’ आयोजना प्रमुख कार्कीले भने, ‘अब होचो भागमा विस्फोट गराउँदा सुरक्षित हुन्छ होला ।’

तुइन खोलाको नारायणगढको तर्फको भागमा ३० प्रतिशत काट्न बाँकी रहेकोले थपिएको १५ दिन भित्र त्यसलाई सकिने आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए ।

विस्फोट गराउने प्रक्रिया र समय दुवै लाग्ने भएकोले अहिले काटिएको भागलाई स्लोप दिने र सुरक्षित बनाउने गरी फिनिसिङ्गको काम बाँकी १५ दिनमा गरिने आयोजना प्रमुख कार्कीले बताए ।

‘विस्फोट गराउनका लागि समय लाग्न सक्छ, त्यतिबेला अहिले काटिएको ठाँउबाट ढुंगा झर्ने लगायतका जोखिम भएन भने त्यसलाई मिलाउने काम १५ दिनमा गछौँ’ कार्कीले भने, ‘त्यसपछि विस्फोट गराएर थप काम अगाढि बढ्छ ।’

चिसेन्जी र तुइन खोलामा पहाड भत्काएर भित्र नयाँ पुल बन्ने गरी डिजाइन गरिएकोले पहाड काटिएको हो । सडकखण्डको मुग्लिनबाट नारायणगढतर्फ आउँदाको पहिलो पुलको काम अझै सुरु हुन सकेको छैन ।

पहिलो खहरे खोला पुलमा पनि अहिले भइरहेको पुलबाट तल अर्थात त्रिशूली नदीतर्फ अर्को पुल बन्ने गरी डिजाइन भएको छ । पुल बन्ने ठाँउको मुखका ५ घरहरू भत्काउनुपर्ने छ ।

चालु वर्षमा १३ वटा पुलको काम सक्ने र मुअब्जाका लागि बजेट आए बनेका पुलहरु तत्काल सञ्चालन गर्ने योजना आयोजनाको छ । यो सडकखण्डमा पर्ने १९ वटा पुल मध्ये ४ वटा तयार भएर सञ्चालनमा आइसकेका छन् । बाँकी १५ वटा पुल मध्ये ९ वटा पुल तयार करीव तयार भैसकेका छन् । सेती दोभान, खहरे, डुम्रे, टोपे, न्याम्सी, खोर, लामोबालुवा, भोर्लेका पुल तयार भएर सञ्चालनको तयारीमा छन् ।

चिसेन्जी, खहरे (मुग्लिन नजिकैको) र तुइन खोलाको पुलको फाउण्डेशनको काम नै बाँकी छ । तोकिएको समय भित्र काम नसकिने भएपछि पुल निर्माणका लागि २०८० पुस ९ गतेसम्मको म्याद थप गरिएको आयोजनाका प्रमुख कार्कीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this: